कर्जाको ब्याजदर घट्यो: एकल अंकमा पाँच बैंकको 'बेस रेट', अब कुन बैंकबाट सस्तो ब्याजमा पाइन्छ ऋण ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

कर्जाको ब्याजदर घट्यो: एकल अंकमा पाँच बैंकको ‘बेस रेट’, अब कुन बैंकबाट सस्तो ब्याजमा पाइन्छ ऋण ?



काठमाडौं । दुई सरकारीसिहत पाँच वटा बैंकको आधार दर (बेस रेट) एकल अंकमा छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्ड, नबिल, र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधार दर एकल अंकमा छ । यी बैंकहरुको बेस रेट १० प्रतिशतभन्दा कम छ । बैंकहरुको आधार दरले नै ऋण लिँदा सस्तो र महँगो ब्याज पर्ने संकेत गर्दछ । हाल यी पाँच वटा बैंकहरुबाट सस्तो ब्याजमा ऋण लिन सकिने देखिएको हो ।

ऋण लिन चाहनेहरुले पनि आधार दर हेरेरै कर्जाका लागि बैंक छनोट गर्छन् । कुन बैंकले सस्तो ब्याजमा ऋण दिन सक्छ भन्ने अनुमान यसैका आधारमा लगाउन सकिन्छ । कम आधार दर भएको बैंकले बजारमा प्रतिस्पर्धी ब्याजमा कर्जा दियो भने पनि उसलाई पर्याप्त नाफा सुरक्षित गर्ने ठाउँ रहन्छ । आधार दर कम भएका बैंकले बढी प्रिमियम लगाउँदा पनि बढी आधार दर भएका बैंकले लिने कर्जाको ब्याजदरसँग प्रतिस्पर्धी हुन्छन् । यसले आधार दर कम हुनु भनेको बैंकको नाफाका हिसाबले पनि सकारात्मक हुन्छ ।

पछिल्लो अपडेट अनुसार अधिकांश बैंकहरुको बेस रेट घटेको छ । बैंकहरुले बेस रेटमा प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्छन् । बैंकहरुको बेस रेट बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन भने बेस रेट घटेका खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ।

संचालनमा रहेका २० वटा बैंकमध्ये सबैभन्दा सस्तो ब्याजमा राष्ट्रिय वाणिज्य बैंकबाट ऋण पाइनेछ । हाल बैंकका आधार दर ८.०२ प्रतिशत रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको बेस रेट ९.२९ प्रतिशत, नेपाल बैंकको ९.५५, नबिलको ९.६५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.८४ प्रतिशत रहेको छ । यी बैंकहरुले अन्यको तुलनामा सस्तोमा ब्याजमा ऋण दिन सक्ने छन् ।

बैंकहरुले कर्जाको प्रकृति अनुसार १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । बैंकहरुको सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार हाल कर्जाको औसत ब्याजदर १०.१५ प्रतिशत छ ।

पछिल्लो अपडेट अनुसार एभरेष्ट बैंकको आधार दर १०.०६ प्रतिशत, कृषि विकासको १०.२१ प्रतिशत, सिद्धार्थको १०.२१, एनआईसी एशियाको १०.३५, सानिमाको १०.३६, प्रभुको १०.३६ र ग्लोबल आइएमई बैंकको १०.३७ प्रतिशत रहेको छ।

यस्तै, एनएमबि बैंकको बेस रेट १०.४५ प्रतिशत, प्राइम कमर्सियलको १०.८४ प्रतिशत, नेपाल एसबिआईको १०.८५, कुमारीको १०.८८, माछापुच्छ्रेको १०.९२, हिमालयनको १०.९४, सिटिजनको १०.९५ र लक्ष्मी सनराइजको १०.९६ प्रतिशत रहेको छ ।

कुन बैंकको आधार दर कति छ ?

स्रोत: सम्वन्धित बैंकहरु, आधादर (प्रतिशत) मा


प्रतिक्रिया दिनुहोस्