८ श्रावण २०८३, शुक्रबार

घर कर्जामा राष्ट्र बैंकको लचिलो नीतिः घर बनाउन अब कुन बैंकबाट सस्तो ब्याजमा ऋण लिने ?



काठमाडौं । हरेक मानिसको स्वभाविक आफ्नै घर होस् भन्ने चाहाना हुन्छ । मानिसमा हुने एउटै महत्वकांक्षी पहिलो सपना भनेको घर बनाउने नै हो । यो विशेषगरि यो मध्यम वर्गीय मानिसहरुमा लागू हुन्छ । सपना र चाहाना हुँदा–हुँदै पनि आफ्नै जागिर र कमाईले घर बनाउन मुस्किल नै पर्छ । तर, मानिसको घर बनाउनकै लागि नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले ऋण दिँदै आएका छन् । घर खरिद गर्न वा बनाउन मात्रै होइन, भविष्यमा घर बनाउने उद्देश्यले खरिद गर्न लागेको जग्गामा पनि बैंकले घर कर्जा ऋण उपलब्ध गराउँदै आएका छन् । यति मात्र होइन बैंकहरूले घर मर्मतदेखि सजावटसम्मका लागि पनि ऋणको स्किम ल्याउने गरेका छन् ।

राष्ट्र बैंकले पनि नयाँ मौद्रिक नीति मार्फत कर्जाको सीमा बढाईदिएको छ । यसअघि हाल बैंकहरुले धितो मुल्यांकनको ४० देखि ५० प्रतिशतसम्म अर्थात अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म ऋण दिने गरेका थिए । तर, अब नयाँ नीति अनुसार भने थप ५० लाख रुपैयाँले बढाएर २ करोडसम्म ऋण पाउने व्यवस्था कायम भएको छ । राष्ट्र बैंकले निर्माण उद्योग क्षेत्रलाई सहयोग पुर्याउने उदेश्य सहित घर कर्जामा लचकताकासथ नीति लिएको हो ।

हाल बैंकहरुले औसत आधार दर (बेस रेट) १०.१५ प्रतिशत छ । यसका आधारमा घर कर्जा लगायतका सबै प्रकारको कर्जामा बेस रेट थप ५ प्रतिशतसम्म प्रिमियम जोडिने छ । हाल पाँच वटा वाणिज्य बैंकहरु आधार दर एकल अंकमा छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल बैंक, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधार दर १० प्रतिशतभन्दा तल छ । यसका आधारमा यी बैंकहरुबाट कर्जा लिँदा अन्यको तुलनामा सस्तो ब्याज लाग्नेछ ।

ऋण लिन चाहनेहरुले पनि आधार दर हेरेरै कर्जाका लागि बैंक छनोट गर्छन् । कुन बैंकले सस्तो ब्याजमा ऋण दिन सक्छ भन्ने अनुमान यसैका आधारमा लगाउन सकिन्छ । बैंकहरुले बेस रेटमा प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्छन् । बैंकहरुको बेस रेट बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन भने बेस रेट घटेका खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ ।

संचालनमा रहेका २० वटा बैंकमध्ये सबैभन्दा सस्तो ब्याजमा राष्ट्रिय वाणिज्य बैंकबाट ऋण पाइनेछ । हाल बैंकका आधार दर ८.०२ प्रतिशत रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको बेस रेट ९.२९ प्रतिशत, नेपाल बैंकको ९.५५, नबिलको ९.६५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.८४ प्रतिशत रहेको छ । यी बैंकहरुले अन्यको तुलनामा सस्तोमा ब्याजमा ऋण दिन सक्ने छन् ।
यस्तै, एभरेष्ट बैंकको आधार दर १०.०६ प्रतिशत, कृषि विकासको १०.२१ प्रतिशत, सिद्धार्थको १०.२१, एनआईसी एशियाको १०.३५, सानिमाको १०.३६, प्रभुको १०.३६ र ग्लोबल आइएमई बैंकको १०.३७ प्रतिशत रहेको छ ।

यस्तै, एनएमबि बैंकको बेस रेट १०.४५ प्रतिशत, प्राइम कमर्सियलको १०.८४ प्रतिशत, नेपाल एसबिआईको १०.८५, कुमारीको १०.८८, माछापुच्छ्रेको १०.९२, हिमालयनको १०.९४, सिटिजनको १०.९५ र लक्ष्मी सनराइजको १०.९६ प्रतिशत रहेको छ । बैंकहरुले कर्जाको प्रकृति अनुसार १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । यसकै आधारमा बैंकबाट ऋण लिन सकिनेछ ।

यस्तो छ बैंकहरुको वेस रेट


प्रतिक्रिया दिनुहोस्