९ श्रावण २०८३, शनिबार

जीवन बीमा बजार: बिजनेश ग्रोथमा आइएमई र नेशनल तगडा, ठुला मानिने कम्पनीहरुको पोजिशन कुन ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक वर्षमा झण्डै डेढ खर्बको व्यवसाय गरेका छन् । संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/८० मा कुल १ खर्ब ४२ अर्ब ३० करोड ७४ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् ।

यद्यपि, अघिल्लो आर्थिक वर्षहरुको तुलनामा व्यवसाय वृद्धि दर एकदमै न्युन देखिएको छ । अघिल्लो आवमा पनि कम्पनीहरुले १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए । अ

अहिले विश्वमा नै आर्थिक मन्दी छ । जसको प्रभाव बीमा क्षेत्रमा पनि देखिएको छ । अघिल्लो आवको तुलनामा गत आवमा जीवन बीमा व्यवसाय २.६४ प्रतिशतले मात्रै वृद्धि भएको छ ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क अनुसार पाँच कम्पनीको व्यवसाय अघिल्लो आवको तुलनामा घटेको छ । दुई कम्पनीको स्थिर देखिएको छ । व्यवसाय ग्रोथका आधारमा सबैभन्दा अगाडि आइएमई लाइफ देखिएको छ । अन्य कम्पनीको तुलनामा आइएमई व्यवसाय वृद्धि आक्रामक देखिएको छ । एक वर्षमा कम्पनीको व्यापार १८.२५ प्रतिशत अर्थात ६४ करोड ६३ लाख रुपैयाँले बढेको छ । अघिल्लो आवमा ३ अर्ब ५३ करोड ९९ लाख २६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । तर, गत आवमा भने ४ अर्ब १८ करोड ६३ लाख १५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

यस्तै, बिजनेश ग्रोथमा दोस्रो स्थानमा भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनी छ । समिक्षा अवधिमा कम्पनीको व्यापार १४.४८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले १४ अर्ब ३३ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । तर, गत आवमा भने नेशनलले १६ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

तेस्रो स्थानमा रहेको सन नेपाल लाइफको पनि ११.५९ प्रतिशत वृद्धि भएको छ। कम्पनीले गत आवमा ३ अर्ब ७५ करोड ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ३ अर्ब ३६ करोड ९ लाख रुपैयाँ प्रिमियम उठाएको थियो।
यस्तै, समिक्षा अवधिमा सिटिजन लाइफको पनि ८.५४ प्रतिशतले वृद्धि भई ५ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

रकमका आधारमा धेरै व्यवसाय गर्ने नेपाल लाइफ भने बिजनेश ग्रोथमा पाँचौं स्थानमा पुगेको छ । समिक्षा अवधिमा कम्पनीले ३७ अर्ब १६ करोड ६९ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने ५.०४ प्रतिशतले मात्रै बढी हो ।

त्यसैगरि सानिमा रिलायन्सको व्यापार ३.६३ प्रतिशत, एशियन लाइफको २.०१ प्रतिशतले मात्रै वृद्धि भएको छ । यता, प्रभु महालक्ष्मीसहित ६ वटा कम्पनीको व्यापार भने घटेको छ । अघिल्लो आवको तुलनामा प्रभु महालक्ष्मीको बीमा शुल्क आर्जन ८.११ प्रतिशतले घटेको छ ।

यस्तै, युनियन, गुराँस र प्राइम लाइफ एक आपसमा गाभिएर बनेको हिमालयन लाइफको बीमा शुल्क आर्जन पनि ४.२४ प्रतिशतले घटेको छ । यता, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ४.१८ प्रतिशत, रिलायवल नेपालको ३.९१ प्रतिशत, राष्ट्रिय बीमा १.९६ प्रतिशतले घटेको छ ।

कुन कम्पनीको व्यवसाय कस्तो ?

स्रोत: नेपाल बीमा प्राधिकरण, रकम रु. हजारमा


प्रतिक्रिया दिनुहोस्