२५ श्रावण २०८३, सोमबार

मोर्गन इन्टरनेसनल कलेजको ‘इथिकल बैङ्किङ’ सेमिनार: विज्ञले औल्याए बैंकिङ्ग क्षेत्रमा नैतिक अभ्यासको आवश्यकता



काठमाडौं । नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा. गरणराज भट्टले अबको बैंकिङ्ग प्रणालीमा नैतिक अभ्यास आवश्यक रहेको बताए ।

शुक्रवार मोर्गन इन्टरनेसनल कलेजद्वारा आयोजित ‘इथिकल बैङ्किङ’ विषयक सेमिनारमा उपनिर्देशक भट्टले यस्तो बताएका हुन् । उनले बैंकिङ्ग क्षेत्रमा नैतिक अभ्यास एकदमै आवश्यक रहेको बताए ।

उनले भने,–‘बैङ्किङ क्षेत्रमा विनियमनको अभ्यास र बढ्दो सूचना प्रविधिको कारण बैङ्किङ क्षेत्रका नैतिक अभ्यास अपरिहार्य बन्दै गएको छ । अबको बैङ्किङ प्रणाली नियम कानूनभन्दा बढी नैतिक अभ्यासबाट निर्देशित हुनुपर्नेछ ।’

बैंकले सर्वसाधारणको निक्षेपमा व्यवसाय गर्ने भएकाले अन्य संस्थाभन्दा बढी बैङ्किङ क्षेत्रमै नैतिक अभ्यास आवश्यक रहेको उनको भनाई थियो ।

सोही अवसरमा राष्ट्र बैंकका उपनिर्देशक रामशरण पोखरेलले नैतिक अभ्यासले नै बैंकिङ्ग क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने बताए । बैंक तथा वित्तीय संस्थालाई स्वनियमनमा ल्याउन नैतिक अभ्यास आवश्यक रहेको उनका भनाई थियो ।

काठमाडौंको बसुन्धारामा रहेको मोर्गन इन्टरनेसनल कलेजले नियमित शृङ्खला अन्तर्गत बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा सेमिनार आयोजना गरेको हो ।

कलेजले विद्यार्थीहरूलाई बैङ्किङ क्षेत्रको असल अभ्यास र आगामी दिनमा बैंक तथा वित्तीय क्षेत्रले ध्यान दिनुपर्ने विषयमा जानकारी गराउने उद्देश्यले सेमिनार आयोजना गरेको क्याम्पस प्रमुख डा. दीपेन्द्र भण्डारीले जानकारी दिए ।

विद्यार्थीहरूलाई व्यवहारिक रुपमै सक्षम बनाउनका लागि सेमिनारहरूले सहयोग पुग्ने उनको भनाई छ । सेमिनारमा कलेजका स्नातक तहका विद्यार्थी, अध्यापक एवं कर्मचारीहरूको सहभागिता थियो ।