पाँच दिनको राताम्य यात्रामा लाग्यो ब्रेक, कारोबार रकम भने खुम्चियो
काठमाडौं । निरन्तर पाँच दिन राताम्य भएको बजार आज ५.८४ अकंले बढेको छ । परिसूचक २१०६.१८ बिन्दुमा बन्द भएको हो ।
आज २६२ कम्पनीको ५५ लाख ३१ हजार ७३७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँको कारोबार भएको छ ।
गत आइतबार मौद्रिक नीति आउनुअघि बजार एकै दिन ६३ अंक बढेको थियो । सेयर धितोमा प्रवाह हुने मार्जिन कर्जालाई सहजिकरण हुने आशामा लगानीकर्ताले सेयरको माग बढाएका थिए । तर बजार बन्द भएपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमा भएका केही व्यवस्थाको थप ब्याख्या गरेर भावि निर्देशनबारे पूर्व जानकारी गराए । उनले २५ लाखसम्मको सेयर कर्जामा १०० प्रतिशतमात्रै जोखिम भार राख्नुपर्ने पुरानो व्यवस्थालाई ५० लाखसम्मको सीमामा विस्तार गर्न खोजिएको बताए । यसले करोडौं, अर्बैं लगानी गर्ने ठूला लगानीकर्ता बेखुस भए र बजार ओरालो लाग्न थाल्यो । आज भने ओरालो यात्रामा ब्रेक लागेको छ ।
वित्तीय प्रणालीमा तरलता बढिरहेको छ । गत साल ठूलो वित्त घाटा व्यहोरेको राज्य कोषमा अहिले रकम जम्मा हुने क्रम बढेको छ । यसले सरकारी खर्चका लागि स्रोत व्यवस्थापनमा योगदान गर्छ । यही साउनदेखि ब्याजदर अन्तर (स्प्रेड) घटाउनु पर्ने राष्ट्र बैंकको निर्देशनले पनि आउँदा दिनमा ब्याजदर ओरालो लाग्ने पक्कापक्की छ । बढ्दो तरलता र राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिबाट नीतिगत दरमा पनि कटौति गरेका कारण यसको असर ब्याजदरमा पर्ने नै छ । सोहि कारण बजार सकरात्मक तिर लम्कि रहेको छ ।
बजारमा सुधार आएनि आज ती उपसूचक राताम्य भएका छन् । आज हाइड्रोपावर समूहको ०.३७ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.१० प्रतिशत र म्युचुअल फण्ड समूहको ०.०५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज शिवम सिमेन्टको ८ करोड ८ लाख रुपैयाँ र सोल्टी होटलको ५ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ ।














