२५ श्रावण २०८३, सोमबार

विश्वविद्यालयको आन्तरिक सुधारमा केन्द्रित हुन प्रधानमन्त्री प्रचण्डको निर्देशन



काठमाडौं । प्रधानमन्त्री तथा सुदूरपश्चिम विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशित दिएका छन् ।

मंगलबार बिहान बालुवाटारमा आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११ औं सिनेट बैठकमा बोल्दै प्रधानमन्त्रीले राज्यको सीमितता र साधनस्रोतका बाबजूद विश्वविद्यालयको आफ्नै बलबुतामा आन्तरिक सुधारको कार्य अगाडि बढाउन निर्देशिन गरेका हुन् ।
बैठकमा प्रधानमन्त्रीले भने, ‘‘राज्यको साधनस्रोतको सीमितता, विश्वबजारको प्रभावका बाबजूद पनि विश्वविद्यालयको आफ्नै बलबुता र मेहेनतमा शैक्षिक गुणस्तर, प्रशासनिक सुधार र कार्यशैलीका दृष्टिले काफी हदसम्म सुधार गर्नसकिने शैक्षिक जगत्मा प्रशस्त दृष्टान्तहरू छन्। तसर्थ, विश्वविद्यालयका पदाधिकारीहरूले आफ्नो सापेक्षतामा उच्चशिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा के–कस्ता कामहरू गर्न सकिन्छ, सोको गहिरो अध्ययन गरी सुदूरपश्चिम विश्वविद्यालयलाई देशकै उत्कृष्ट र नमुना विश्वविद्यालयका रूपमा स्थापित गर्नसमेत म यहाँहरूको ध्यानआकृष्ट गराउँछु।’’

“सुदूरपश्चिम विश्वविद्यालयले आफूलाई नेपालको उच्चशिक्षाको थलोको रूपमा स्थापित गरी देशको आर्थिक, सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै जानुपर्ने देखिन्छ। अनुसन्धान कार्यहरूलाई आर्थिक तथा सामाजिक विकाससँग जोडी विज्ञान तथा प्रविधिका विषयहरूलाई उच्च प्राथमिकतामा राखेर दक्ष जनशक्ति उत्पादन गरी देशको बेरोजगारी र गरीबी न्यूनीकरण गर्नेतर्फ पनि विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको छ” प्रचण्डले भने ।