नेपाल–भारत सम्बन्धका बदलिँदा आयामबारे नाइस नेपाल र सीपीएसबीच छलफल
काठमाडौं । नेपाल–भारत सम्बन्धका बदलिँदा आयाम, क्षेत्रीय रणनीतिक अवस्था तथा प्रविधि र विकासका क्षेत्रमा सहकार्यका सम्भावनाबारे विज्ञहरूले छलफल गरेका छन्।
नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (नाइस नेपाल) र सेन्टर फर पिस स्टडिज (सीपीएस) को संयुक्त आयोजनामा सोमबार (नोभेम्बर १६) ललितपुरको हात्तीवनस्थित नाइस नेपालको सेमिनार हलमा आयोजित कार्यक्रममा नेपाल–भारत सम्बन्धको विकसित स्वरूप र क्षेत्रीय तथा रणनीतिक परिदृश्यमा आइरहेका परिवर्तनबारे विचारविमर्श गरिएको हो।
कार्यक्रममा सीपीएसका अध्यक्ष डा. अशोक के. बेहुरिया, सीपीएसका आजीवन सदस्य तथा दिल्ली विश्वविद्यालयका डा. निहार नायक, प्रविधि उद्यमी सिक्सित भट्ट र नाइस नेपालका कार्यक्रम संयोजक तथा अनुसन्धान सहायक विवेक ध्वज थापाले धारणा राखेका थिए।
कार्यक्रममा सीपीएसका अध्यक्ष डा. बेहुरियाले नेपाल–भारत सम्बन्धलाई परम्परागत राज्यकेन्द्रित तथा सुरक्षामुखी दृष्टिकोणबाट मात्र हेर्न नहुने बताए। उनले जनतालाई द्विपक्षीय सम्बन्धका प्रमुख सरोकारवालाका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिए।
भारतको विदेश नीतिको ऐतिहासिक विकासक्रमबारे चर्चा गर्दै उनले औपनिवेशिक विरासतको प्रभावबाट बाहिर निस्कँदै छिमेकी मुलुकप्रति समावेशी दृष्टिकोण अपनाउने प्रक्रियाबारे प्रकाश पारे। उनले गुजराल सिद्धान्तले अघि सारेको प्रतिफलको अपेक्षाविनाको सहयोगको अवधारणा र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको बदलिँदो क्षेत्रीय दृष्टिकोणबारे पनि चर्चा गरे।
त्यस्तै, दिल्ली विश्वविद्यालयका डा. निहार नायकले नेपालका प्रधानमन्त्रीको अपेक्षित भारत भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अवसर प्रदान गर्न सक्ने बताए। उनले विकास, पूर्वाधार, डिजिटल कनेक्टिभिटी र विपद् व्यवस्थापनका क्षेत्रमा नेपाल–भारत सहकार्य विस्तार गर्न सकिने सम्भावना औँल्याए।
उनले सीमा विवाद, गोर्खा भर्ती, पञ्चेश्वर परियोजना, हवाई सम्पर्क तथा गैरभन्सार अवरोधलाई दुई देशबीच लामो समयदेखि कायम चुनौतीका रूपमा प्रस्तुत गरे। प्रस्तावित भ्रमणले नेपाललाई आफ्ना विकास प्राथमिकता भारतसमक्ष स्पष्ट रूपमा राख्ने र आपसी विश्वास तथा सहकार्य बढाउने अवसर दिन सक्ने उनको भनाइ थियो।
प्रविधि उद्यमी सिक्सित भट्टले अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय सार्वभौमिकता र सुरक्षामा प्रविधिको महत्त्व बढ्दै गएको बताए। सेमिकन्डक्टर आपूर्ति शृङ्खला तथा कृत्रिम बौद्धिकतासम्बन्धी महत्त्वपूर्ण पूर्वाधारमा सीमित पहुँच र नियन्त्रणका कारण नेपाल र भारत दुवै जोखिममा रहेको उनको धारणा थियो।
उनले कृत्रिम बौद्धिकता, साइबर सुरक्षा र डिजिटल पूर्वाधारका क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए। नेपाल–भारत सम्बन्धलाई प्रविधि प्राप्त गर्ने वा प्रयोग गर्ने तहमा मात्र सीमित नराखी संयुक्त रूपमा प्रविधि विकास गर्ने दिशामा अघि बढाउनुपर्ने उनले सुझाव दिए।
नाइस नेपालका कार्यक्रम संयोजक तथा अनुसन्धान सहायक विवेक ध्वज थापाले नेपाल र भारत दुवै देशको जनसङ्ख्यामा युवाको हिस्सा करिब ५० देखि ६० प्रतिशत रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धको विकासमा युवाहरूको सहभागिता अपरिहार्य रहेको बताए।
उनले सम्बन्धको भविष्य निर्माणमा युवाका विचार र आवाजलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। उनका अनुसार अहिलेका युवाहरू अघिल्लो पुस्ताले अनुभव गरेको शीतयुद्धकालीन मनोवैज्ञानिक त्रास र दृष्टिकोणबाट निर्देशित छैनन्। उनीहरू भूराजनीतिक प्रतिस्पर्धा वा शक्ति संघर्षमा अल्झिनुभन्दा आफ्ना देशको विकास र समृद्धि चाहन्छन्।
कार्यक्रमको अन्त्यमा नाइस नेपाल र सीपीएसबीच आपसी आदानप्रदान तथा सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको आयोजकले जनाएको छ।















