२.४२ गुणाले बढ्यो सिमेन्ट निर्यात: आधाले घट्यो आयात, नेपाली उद्योगीलाई राहत - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

२.४२ गुणाले बढ्यो सिमेन्ट निर्यात: आधाले घट्यो आयात, नेपाली उद्योगीलाई राहत



काठमाडौं । नेपालले निर्यात गर्ने सिमेन्ट उल्लेख रुपमा वृद्धि भएको छ । एक वर्षको यसको निर्यात २.४२ गुणाले वृद्धि भएको हो । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

अघिल्लो आवमा ३२ करोड १४ लाख ९६ हजार रुपैयाँ बराबरको सिमेन्ट नेपालबाट निर्यात भएको थियो । तर, अघिल्लो आवको तुलनामा भने गत आवमा नेपालबाट हुने सिमेन्टको निर्यात १४२.३९ प्रतिशतले बढेको हो । गत आव ७७ करोड ९३ लाख हजारको सिमेन्ट निर्यात भएको छ ।

वर्तमान मन्दीमा यसरी सिमेन्टको निर्यात बढ्दा सम्बन्धीत उद्योगहरुलाई राहत पुगेको व्यवसायीहरु बताउछन् । मन्दीका कारण स्वदेशी माग घटीरहेको बेला सिमेन्ट उद्योगहरुलाई निर्यातले भने राहत दिएको छ । सरकारले भुक्तानी नदिने, मुल्यबृद्धि लगायतका कारण निर्माण क्षेत्रमा आएको मन्दीले गर्दा सिमेन्टको उत्पादन र स्वदेशी खपत घटेको छ । त्यसले सिमेन्ट उद्योगहरुको व्यवसाय नमज्जाले प्रभावित भएको छ । तर, सिमेन्टको बढ्दो निर्यातले भने सिमेन्ट उद्योगहरुलाई केही राहत दिएको हो ।

गत आवमामा ६ लाख ७ हजार ७३ टन सिमेन्ट निर्यात भएको छ । अघिल्लो आवमा भने ३ लाख ९६ हजार ९५० टन सिमेन्ट निर्यात भएको थियो । गत आवमा निर्माण सम्बन्धी गतिविधि कम हुदाँ निर्माण सामग्रीको खपत घटेको थियो । त्यसले गर्दा सिमेन्ट उद्योग प्रभावित भएका थिए । त्यो अवस्थामा निर्यात बढ्दा उद्योगहरुलाई केही राहत भएको बताइन्छ ।

सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने नीति ल्याएको छ । त्यसबाट सिमेन्ट उद्योगहरु निर्यात गर्न प्रोत्साहित भएका छन् । नेपालबाट घोराही, बालाजी, तानसेन, अर्घाखाँची सिमेन्ट भारततर्फ निर्यात हुँदै आएका छन् । नेपालबाट आधीकारिक रुपमा पहिलो पटक तानसेन सिमेन्ट भारत निर्यात भएको थियो । गत बर्ष असार २४ गते उक्त सिमेन्ट भारत निर्यात गरिएको थियो । बिशेषगरि भारतको विहार र उत्तर प्रदेशमा नेपाली सिमेन्टको माग बढ्दै गएको छ ।

विहार र उत्तर प्रदेशमा भारतीय सिमेन्ट उद्योगहरु छैनन् । त्यहाँ भारतको अन्य ठाउँबाट सिमेन्ट खरिद गर्दा ढुवानीका कारण लागत महंगो पर्न जान्छ । तर, नेपालबाट आयात गर्दा ढुवानीमा कम खर्च हुन्छ । त्यसले कुल लागत नै कम बढाउछ । त्यसमाथि त्यहाँका ग्राहकहरु नेपाली सिमेन्टको गुणस्तर प्रति सन्तुष्ट पनि छन् । त्यसले गर्दा निर्यात बढेको उद्योगीहरुको भनाइ छ । मुख्यत भारतको विहार र उत्तर प्रदेशमै सिमेन्टको माग बढी छ । सिमेन्टको गुणस्तरमा सन्तुष्ट रहेकाले आगामीमा दिनमा सिमेन्टको निर्यात अझै बढ्ने उद्योगीहरु बताउँछन् ।

सिमेन्ट आयात भने घट्यो

निर्यात बढ्दै गर्दा सिमेन्टको आयात भने घटेको छ । समिक्षा बर्षमा सिमेन्ट आयात ५६.३४ प्रतिशतले घटेको भन्सार बिभागबाट प्राप्त तथ्यांकले देखाएको छ । अघिल्लो आवमा ६८ करोड ९३ लाख ५३ हजारको सिमेन्ट आयात भएको थियो । तर, गत आवमा ३० करोड ९ लाख रुपैयाँको सिमेन्ट आयात भएको छ ।

पछिल्लो समय नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको छ । विदेशी लगानीमा बन्दै गरेको केही आयोजनाहरुले मात्रै विदेशी सिमेन्ट आयात गर्ने गर्छन् । अहिले स्वदेशी मागलाई स्वदेशी उत्पादनले नै धान्ने अवस्था भएको छ । त्यसले गर्दा आयात घटेको व्यवसायीहरु बताउछन् ।


प्रतिक्रिया दिनुहोस्