मर्जरको ६ महिना नपुग्दै हिमालयन बैंकबाट बाहिरिए रायमाझी, टिसा बैंक जाने
काठमाडौं । सिभिल बैंक हिमालयन बैंकमा गाभिएको ५ महिना नपुग्दै सहायक प्रमुख कार्यकारी अधिकृत सचिनजंग रायमाझीले बैंक छाडेका छन् । रायमाझीले १ महिनाअघिनै हिमालयन बैंकबाट राजीनामा दिएको बैंक स्रोतले बताएको छ ।
सिभिल बैंकको डिसिइओ रहेका रायमाझी मात्र मर्जरको समयमा हिमालयन बैंकमा आबद्ध थिए । उनी तत्कालीन सिभिल बैंकबाट कर्मचारीको नेतृत्व गरेका थिए । गत बैंसाखमा तत्कालीन सिभिल बैंकको एजिएम रहेका सुमन आचार्यले पनि हिमालयन छाडेर लुम्बिनी विकास बैंकको डिसिइओ बनेका छन् ।
सिभिल बैंकको तत्कालीन नेतृत्वमा रहेका सिइओ सुनिल पोखरेलले बैंक मर्ज हुनु अघिनै भिआरएस लिएका थिए । रायमाझीले अन्तर्राष्ट्रिय बैंकिङ्ग अनुभव लिन भन्दै हिमालयन बैंक छाडेको बताए पनि बैंकमा हिमालयनबाट सिभिलका कर्मचारीलाई काम गर्ने वातावरण नरहेको बुझिएको छ ।
हिमालयन बैंकको पेलानका कारण सिभिल बैंकका धेरै कर्मचारीहरू बैंक छोड्ने मुडमा पुगेका छन् । मर्जरकै दिन सिभिल बैंकका अध्यक्ष प्रवलजंग पाण्डेले सिभिलका कर्मचारीलाई कुनै भेदभाव नगर्न हिमालयनको व्यवस्थापनलाई आग्रह गरेको थियो । यद्येपी हिमालयन बैंकले सिभिल बैंकका कर्मचारीलाई दोस्रो दर्जामा राखेर हेर्ने गरेको कर्मचारीहरू बताउँछन् ।
रायमाझी पोपुवा न्युगिनीको दि टिचर सेभिङ्ग एन्ड लोन सोसाइटी (टिसा) बैंकको चिफ रिस्क अफिसरको नियुक्ति हात परेका छन् । उनले यही अगस्ट १० तारिखदेखि नै टिसा बैंकमा चिफ रिस्क अफिसर रूपमा काम गर्नेछन् । रायमाझी नेपाल बङ्गलादेश, नेपाल राष्ट्र बैंक, प्रभु, हिमालयन र मेगा र सिभिल गरी आधा दर्जन बैंकमा साढे २ दशकको बैंकिङ्ग अनुभव छ ।













