हिमालयन क्यापिटलले साउन ३२ गतेदेखि ‘हिमालयन म्युचुअल फण्ड’ निष्काशन गर्दै
काठमाडौं । हिमालयन क्यापिटलले बन्दमुखी म्युचुअल फण्ड योजना ‘हिमालयन ८०–२०’ निष्कासन गर्ने भएको छ । साउन ३२ गतेदेखि क्यापिटलले हिमालयन ८०–२० को कुल १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गर्न लागेको हो ।
यसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ ।
बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो म्युचुअल फन्डमा प्रतिइकाई १० रुपैयाँको दरले भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा भदौ १५ गतेसम्म आवेदन खुला रहनेछ । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ ।
यो म्युचुअल फन्डमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत अनलाइन आवेदन दिन सकिन्छ । हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो । यस योजनाको परिवक्व हुने अवधि १० वर्षको रहेको छ ।













