८ श्रावण २०८३, शुक्रबार

माछापुच्छ्रे, प्रभु र नेपाल एसबिआईको मात्रै बढ्यो सेयर कारोबारबाट हुने आम्दानी, अन्य कुन बैंकले कति कमाए ?



काठमाडौं । माछापुच्छ्रे, प्रभु र नेपाल एसबिआई बैंकको सेयर कारोबारबाट हुने आम्दानी (नेट ट्रेडिङ्ग इन्कम) बढेको छ ।समग्रमा वाणिज्य बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानीमा गिरावट देखिएपनि यी तीन वटा बैंकको भने बढेको हो ।

संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० मा ५ अर्ब १७ करोड ७८ लाख ८७ हजार रुपैयाँ आम्दानी गरेका छन् । तर, यो अघिल्लो आवको तुलनामा भने २४.७८ अंकले कमी हो । अघिल्लो आवको समिक्षा अवधिमा बैंकहरुको यस्तो आम्दानी ६ अर्ब ८८ करोड ४२ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।

सेयर बजारमा आएको उत्तार–चढावले वाणिज्य बैंकहरुको ‘नेट ट्रेडिङ्ग इनमकम’ पनि प्रभावित भएको हो । बजार अस्थिर बन्दा बैंकहरुको यस्तो आम्दानीमा कमी आएको विज्ञहरु बताउँछन् । घट्दो सेयर बजार तथा नेपाल राष्ट्र बैंकले लिएको केही कसिलो नीतिका कारण पनि यस्तो आम्दानीमा संकुचन आएको बताइन्छ । नियमनकारी निकायम नेपाल राष्ट्र बैंकले बैंकलाई चुक्ता पुँजीको १ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने सुविधा दिएको छ । सो सुविधामार्फत बैंकहरुले सेयर बजारमा गरेको लगानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्ने प्रावधान छ ।

तर, अघिल्लो आवको तुलनामा माछापुच्छ्रे बैंकले भने ‘नेट ट्रेडिङ्ग इनमकम’ बढाएको छ । बैंकले ३७.६२ प्रतिशतले यस्तो आम्दानी वृद्धि गरि २९ करोड ८१ लाख ५९ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो आम्दानी २१ करोड ६६ लाख ५० हजार रुपैयाँ मात्रै रहेको थियो ।

यस्तै, समिक्षा अवधिमा नेपाल एसबिआई बैंकको ‘नेट ट्रेडिङ्ग इनमकम’ पनि २६.३४ प्रतिशतले बढेर ३३ करोड ३८ लाख ९६ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो आम्दानी २६ करोड ४२ लाख रुपैयाँ बढी थियो ।

यता, प्रभु बैंकले पनि सेयर कारोबारबाट २८ करोड १२ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको असार मसान्तसम्मको तुलनामा भने १२.७४ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले सेयर कारोबारबाट २४ करोड ९४ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

वित्तीय विवरणअनुसार सबैभन्दा धेरै ‘नेट ट्रेडिङ्ग इनमकम’ कृषि विकास बैंकको देखिएको छ । बैंकले गत वर्ष सेयर कारोबारबाट १ अर्ब ५ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै, दोस्रो स्थानमा भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको देखिएको छ । समिक्षा अवधिमा बैंकले सेयर कारोबारबाट ५८ करोड २१ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको छ । तर, अघिल्लो आवको तुलनामा भने ११.४५ प्रतिशतले कमी हो ।

यस्तै, समिक्षा अवधिमा नबिल बैंकको ‘नेट ट्रेडिङ्ग इनमकम’ ४८ करोड ४७ लाख ७६ हजार, ग्लोबल आइएमईको ४७ करोड ४६ लाख, हिमालयन ३८ करोड २५ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाको ३६ करोडड २१ लाख र कुमारीको ३५ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

यता, कृषि विकास बैंकको भने सेयर कारोबारबाट हुने आम्दानी ऋणात्मक देखिएको छ । बैंकको यस्तो आम्दानी २ करोड २४ लाख रुपैयाँ ऋणात्मक छ । यद्यपि, अघिल्लो आवको तुलनामा भने ७०.७५ प्रतिशतले घटाएको हो ।

यस्तै, सानिमा बैंकले सेयर कारोबारबाट २५ करोड ४४ लाख, एनएमबिले २३ करोड ६२ लाख, लक्ष्मी सनराइजले २१ करोड ४१ लाख, सिद्धार्थले १९ करोड १७ लाख, एभरेष्टले १८ करोड २७ लाख, प्राइमले १५ करोड ३ लाख र एनआईसी एशियाले १२ करोड २१ लाख रुपैयाँ आम्दानी गरेका छन् । त्यसैगरि नेपाल बैंकले ७ करोड ८६ लाख र राष्ट्रिय बाणिज्य बैंकले ३ करोड २२ लाख रुपैयाँ सेयर कारोबारबाट आम्दानी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्