९ श्रावण २०८३, शनिबार

असार महिनामै पाैने १८ अर्ब जीवन बीमाकाे ब्यापार: ‘टप थ्रि’मा नेपाल लाइफ, नेशनल र एलआईसी



काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक महिनामै पौन १८ अर्ब रुपैयाँ बराबरको व्यापार गरेका छन् । संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले गत असार महिनामा मात्रै १७ अर्ब ८१ करोड १५ लाख ८७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत असार महिनाको व्यापार अन्य महिनाको भन्दा उच्च हो । जीवन बीमा कम्पनीहरुले औसतमा मासिक ११ अर्ब ८६ करोड २९ हजार रुपैयाँ बराबरको व्यापार गरेको देखिएको छ । तर, गत असार महिनामा भने अन्य महिनाको व्यवसाय उच्च हो ।

कम्पनीहरुले गत आवको पहिलो महिना अर्थात साउनमा १५ अर्ब ५ करोड ७३ लाख रुपैयाँ, भदौंमा १० अर्ब ९८ करोड ५९ लाख, असोजमा ९ अर्ब ७३ करोड ३४ लाख, कात्तिकमा १० अर्ब २३ करोड ४६ लाख, मंसिरमा १३ अर्ब ५० करोड ४६ लाख, पुसमा १२ अर्ब १३ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

त्यस्तै, गत वर्षको माघ महिनामा जीवन बीमा कम्पनीहरुले ११ अर्ब ७३ करोड ९३ लाख रुपैयाँ, फागुनमा १० करोड ३३ करोड ३८ लाख, चैतमा ११ करोड ९५ लाख, ९ अर्ब ३७ करोड ४९ लाख, जेठमा १० अर्ब ४३ करोड ४० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

गत आर्थिक वर्षभर भने कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । कम्पनीहरुले नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) मार्फत ३१ अर्ब २३ करोड ८३ लाख रुपैयाँ, नविकरण मार्फत १ खर्ब ११ अर्ब ११ करोड ७० लाख रुपैयाँ बमिा शुल्क आर्जन गरेका छन् । गत वर्षभर कम्पनीहरुको कुल १ करोड ४१ लाख ३७ हजार १०२ वटा बीमालेख सक्रिय छन् ।

१५ वटा जीवन बीमा कम्पनीहरुले असारमा मात्रै ५ अर्ब २८ करोड ७३ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका छन् । सो महिनामा कम्पनीहरुले नविकरण मार्फत १२ अर्ब ५२ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । असारमा ११ लाख ७ हजार ७५१ बीमालेख जारी गरेका छन् ।

असारमा सबैभन्दा धेरै व्यवसाय नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । एक महिनामा कम्पनीले ४ अर्ब ८० करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असारमा कम्पनीको प्रथम बीमा शुल्क १ अर्ब ४२ करोड ८८ लाख रुपैयाँ र नविकरणबाट ३ अर्ब ८० करोड १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । असारमा मात्रै कम्पनीले ३३ हजर ४९९ वटा बीमालेख जारी गरेको छ ।

दोस्रो स्थानमा भने नेशनल लाइफ देखिएको छ। कम्पनीले गत असार महिनामा २ अर्ब ३६ करोड ७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो महिनामा कम्पनीले नयाँ व्यापार मात्रै ६४ करोड ७४ लाख रुपैयाँ र नविकरण मार्फत १ अर्ब ७१ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो महिनामा कम्पनीले ८० हजार ४३९ वटा बीमालेख बिक्री गरेको हो । नेशनलले गत वर्षभर भने १६ अर्ब ४३ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

असारमा सबैभन्दा धेरै व्यवासय गर्नेको तेस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ । कम्पनीले गत असारमा १ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । सो महिनामा कम्पनीले ३७ करोड ५७ लाख रुपैयाँको नयाँ व्यापार गरेको छ । यता, नविकरण मार्फत भने १ अर्ब ६० करोड ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असारमा कम्पनीले १७ हजार ३३४ वटा बीमालेख बिक्री गरेको छ । एलआईसीले गत वर्षभर भने १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ प्रिमियम कलेक्शन गरेको छ ।

चौंथो नम्वरमा रहेको हिमालयन लाइफले भने असारमा १ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यसमा कम्पनीको नयाँ व्यवसाय ३२ करोड ४१ लाख रुपैयाँ र नविकरण बीमा शुल्क १ अर्ब ४४ करोड ११ लाख रुपैयाँ रहेको छ । असार महिनामा कम्पनीले ५ हजार ९८४ वटा बीमालेख बिक्री गरेको देखिएको छ । हिमालयन लाइफले गत वर्षभर भने १४ अर्ब ८९ करोड ४६ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ ।

यस्तै, गत असार महिनामा सूर्यज्योति लाइफले १ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । कम्पनीले एक महिनामा ४७ करोड २० लाख रुपैयाँको नयाँ व्यवसाय भित्रयाएको हो । नविकरण माफर्त भने कम्पनीले ८४ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आवमा भने कुल ८ अर्ब ८१ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यता, सिटिजन लाइफले भने असारमा मात्रै १ अर्ब ५ करोड ६१ लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले असारमा प्रथम बीमा शुल्क ३७ करोड ६ लाख रुपैयाँ र नविकरण शुल्क मार्फत ६८ करोड ५४ लाख रुपैयाँ उठाएको छ । गत वर्षभर भने कम्पनीले ५ अर्ब ८९ करोड ५६ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेको छ ।

यस्तै, एशियन लाइफले असारमा ९० करोड ५४ लाख रुपैयाँ, सानिमा रिलायन्स ८० करोड ६६ लाख, आइएमई लाइफले ६२ करोड २९ लाख, रिलायवल नेपालले ५० करोड ६६ लाख, मेट लाइफ ४८ करोड ९३ लाख, राष्ट्रिय बीमा संस्थानले ४४ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् ।

त्यसैगरि गत असारमा सन नेपाल लाइफले ३६ करोड २९ लाख, साविक प्रभु लाइफ २३ करोड ५२ लाख, साविकको महालक्ष्मीले १५ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्