जीवन बीमाकाे झण्डै आधा व्यापार बागमतीमा, कुन प्रदेशमा कति ?
काठमाडौं । जीवन बीमा व्यवसाय बागमती प्रदेश केन्द्रित देखिएको छ । गत आर्थिक बर्ष २०७९/८० को जीवन बीमा व्यवसायमा बागमती प्रदेशको हिस्सा सबै भन्दा बढी देखिएको हो ।
जीवन बीमा व्यवसायमा सात प्रदेश मध्ये बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी अर्थात् ४४ प्रतिशत देखिएको छ ।गत आवमा १४ जीवन बीमा कम्पनीले कुल १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्, त्यसमा बागमती प्रदेशबाट सबैभन्दा बढी अर्थात् ६३ अर्ब ९ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।
नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट प्राप्त गत आवको जीवन बीमा व्यवसाय सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकले जीवन बीमा व्यवासयको करिब आधा व्यवसाय बागमती प्रदेशमा केन्द्रीत देखाएको छ ।
बागमती प्रदेशमा संघीय राजधानी काठमाडौं पर्दछ, जसको जनघनत्व बढी छ । साथै, यहाँ आर्थिक गतिविधि पनि बढी हुन्छन् । त्यसैले बीमा कम्पनीहरु अन्य प्रदेशको तुलनामा यही प्रदेशमा केन्द्रीत भएर काम गर्दै आएका छन् । त्यसैले बागमतीमा बीमाको व्यवसाय बढी देखिएको हो ।
जीवन बीमा व्यवसायमा लुम्बिनी प्रदेशको योगदान दुई नम्बरमा देखिन्छ छ । गत आवमा उक्त प्रदेशबाट २१ अर्ब १९ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । तेस्रो स्थानमा रहेको कोशी प्रदेशबाट १७ अर्ब ५९ करोड ६६ लाख बीमाशुल्क संकलन भएको छ ।
यसैगरि गण्डकीबाट १४ अर्ब २२ करोड ९१ लाख रुपैयाँ, मधेशबाट १३ अर्ब १५ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । अन्य प्रदेशको तुलनामा कम बिकसित मानिने कर्णाली र सुदुर पश्चिम प्रदेशमा बीमा व्यवसाय पनि न्यून छ ।
अन्य प्रदेशमा १० अर्ब भन्दा बढी बीमाशुल्क संकलन हुदाँ त्यहाँबाट उठ्ने बीमाशुल्क ज्यादै न्यून छ । तथ्यांकअनुसार सुदुर पश्चिमबाट ७ अर्ब ५५ करोड १४ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ५ अर्ब ५३ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।














