सगरमाथा लुम्बिनीको नाफा र खुद बीमा शुल्क आर्जन दोहोरो अंकले बढ्यो, जगेडा र बीमा कोष थप तगडा
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को खुद नाफामा दोहोरो अंकले वृद्धि भएको छ। कम्पनीले बुधवार सार्वजनिक गरेको गत वर्ष वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीले खुद नाफा २२.२६ प्रतिशतले बढेर ४५ करोड ८२ लाख ६३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको चौंथो त्रैमासमा भने कम्पनीले ३७ करोड ४८ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १४.९४ प्रतिशतले वृद्धि भई १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जन भने ३ अर्ब ४१ करोड ८५ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले १ लाख ५६ हजार २३ वटा नयाँ बीमालेख जारी गरेको थियो । कम्पनीको नविकरण गरिएको बीमालेखको संख्या भने ८५ हजार ८३ वटा रहेको छ ।
गत वर्ष कम्पनीले पुनर्बीमा कमिशनबाट ४० करोड ७ लाख ८८ हजार रुपैयाँ, लगानी, कर्जा तथा अन्यबाट १४ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनका लागि ३ करोड ६५ लाख र सेवा शुल्क बापत १ करोड २१ लाख रुपैयाँ खर्चिएको छ । कम्पनीले कर्मचारी बोनसका लागि भने ७ करोड २७ लाख रुपैयाँ छुट्याएको छ ।
गत वर्ष कम्पनीले कुल २ अर्ब ३३ करोड ५८ लाख ६७ हजार रुपैयाँ दावी भुक्तानी दिएको छ । सो अवधिमा कम्पनीले १४ हजार ३०९ वटा दावी भुक्तानी दिएको हो । तर, भुक्तानी हुन् बाँकी दावी रकम भने ४ अर्ब ४४ करोड ७५ लाख ६८ हजार रुपैयाँ देखिएको हो । गत वर्ष कम्पनीले १४ हजार ८१ वटा दावी भुक्तानी दिएको छैन ।
कम्पनीको चुक्तापुँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ छ । सो अवधिमा कम्पनीको जगेडा तथा कोषको भने थप बलियो भएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको यस्तो कोषको आकार ११६ प्रतिशतले बढेर ९१ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको बीमा कोषको आकार पनि झण्डै दोब्बरले बढेको छ । समिक्षा अवधिमा कम्पनीको यस्तो कोषको आकार ९०.१२ प्रतिशतले वृद्धि भई २ अर्ब २८ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ २२८ रुपैयाँ ९२ पैसा रहेको छ।
















