हिमालयन क्यापिटलको ‘हिमालयन म्युचुअल फण्ड’ आजबाट बिक्रीमा, कति र कहिलेसम्म दिने आवेदन ?
काठमाडौं । हिमालयन क्यापिटलले बिहीबारदेखि पहिलो पटक म्युचुअल फण्ड निष्कासन गरेको छ ।
नेपाली पुंजी बजारमा नविनतम लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरि उपयुक्त प्रतिफल प्रदान गर्ने उद्देश्यसहित पहिलो बन्दमुखी योजना “हिमालयन ८०–२०” निष्कासन गरेको हो ।
हिमालयन बैंक लिमिटेड कोष प्रवद्र्घक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तगर्तको पहिलो बन्दमुखी योजना “हिमालयन ८०–२०” निष्काशन हुने भएको छ । योजनाको लगानी व्यवस्थापन हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटलले गर्नेछ ।
यस “हिमालयन ८०–२०” नामक योजनाको कुल लगानी मध्ये ८० प्रतिशत पुंजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने क्यापिटलले जनाएको छ। यसका साथै बाँकी २० प्रतिशत बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा संचालनगरि लगानीकर्ताहरुलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने क्यापिटले जनाएको छ ।
क्यापिटलले कुल १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गर्न लागेको हो । यसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो म्युचुअल फन्डमा प्रतिइकाई १० रुपैयाँको दरले भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा भदौ १५ गतेसम्म आवेदन खुला रहनेछ । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ ।
यो म्युचुअल फन्डमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत अनलाइन आवेदन दिन सकिन्छ । हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो । यस योजनाको परिवक्व हुने अवधि १० वर्षको रहेको छ ।
सन १९९३ मा स्थापना भई बिगत ३० वर्षदेखि आफ्ना ग्राहक वर्गमा विभिन्न सेवा प्रदान गर्दै आएको हिमालयन बैंक देशको अग्रणी वित्तिय संस्थामध्ये स्थापित हुन सफल रहेको छ । कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले यस सामुहिक लगानी कोषको व्यवस्थापन राष्ट्रिय तथा अन्तराष्ट्रिय पुंजी बजारको नविनतम तथा उत्तम अभ्यासहरू अपनाई गर्नेछ ।
















