नाफा वृद्धिमा हिमालयन एभरेष्ट ‘नम्बर वान’: राष्ट्रिय बीमा, नेको र सलिको शीर्षस्थानमा, कुन कम्पनीले कति कमाए ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नाफा वृद्धिमा हिमालयन एभरेष्ट ‘नम्बर वान’: राष्ट्रिय बीमा, नेको र सलिको शीर्षस्थानमा, कुन कम्पनीले कति कमाए ?



काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरूले गत वर्ष ५ अर्ब बढी खुद नाफा कमाएका छन् । कम्पनीहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । 

गत वर्ष सञ्चालनमा रहेका १४ कम्पनीहरूले ५ अर्ब १७ करोड ९० लाख रुपैयाँ नाफा कमाएका छन् । जुन, अघिल्लो आवको तुलनामा ४४.६९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीहरूले ३ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ नाफा कमाएका थिए । 

अधिकांश निर्जीवन बीमा कम्पनीहरूले नाफा सकारात्मक वृद्धि गरेका छन् । केही कम्पनीको सामान्य वृद्धि भएको छ । गत वर्ष हिमालयन एभरेस्ट इन्स्योरेन्सको छलाङ पारेको छ । नाफा वृद्धिमा हिमालयन एभरेस्ट पहिलो नम्बरमा देखिएको छ । कम्पनीले १८४.७५ प्रतिशतले नाफा बढाएर ४० करोड १ लाख रुपैयाँ पुर्‍याएको छ । कम्पनीको व्यापार बढेसँगै खुद नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो वर्ष कम्पनीले १४ करोड ६ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । 

सबैभन्दा धेरै नाफा बढाउनेको दोस्रो स्थानमा भने सानिमा जिआईसी देखिएको छ । कम्पनीले गत वर्ष ९३.३५ प्रतिशतले नाफा बढाएर २८करोड १ लाख रुपैयाँ पुर्‍याएको छ । अघिल्लो वर्ष भने कम्पनीले १४ करोड ४९ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । 

तर, गत वर्ष सबैभन्दा धेरै नाफा कमाउनेमा राष्ट्रिय बीमा कम्पनी पहिलो स्थानमा छ । कम्पनीले गत वर्ष ७७ करोड २५ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ६३.१५ प्रतिशतले वृद्धि भएको हो ।

यस्तै, धेरै नाफा कमाउनेको दोस्रो स्थानमा भने नेको इन्स्योरेन्स कम्पनीले देखिएको छ । कम्पनीले गत वर्ष ५५ करोड ३१ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ ।जुन अघिल्लो आवको तुलनामा भने सामान्य वृद्धि भएको हो । 

मर्जरपछि बनेको कम्पनीहरू थप मजबुत बन्दै गएका छन् । समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी पनि थप बलियो देखिएको छ । गत वर्ष कम्पनी ४५ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा भने २२.२६ प्रतिशतले बढी हो । 

गत वर्ष नै मर्जरमा गएका आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले पनि नाफा ५२.४२ प्रतिशतले बढाएको छ । समीक्षा अवधिमा कम्पनीले २६ करोड १० लाख रुपैयाँ नाफा कमाएको हो । 

व्यापारमा अब्बल कहलिएको शिखर इन्स्योरेन्स भने नाफाका आधारमा चौथो स्थानमा पुगेको छ । गत वर्ष कम्पनीले ४० करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । यद्यपि, अघिल्लो आवको तुलनामा भने कम्पनीको नाफा ४६.५६ प्रतिशतले बढी हो । 

यता, अघिल्लो वर्ष १२ करोड ५६ लाख रुपैयाँ नोक्सानीमा रहेको नेशनल इन्स्योरेन्स गत वर्ष भने नाफा ह्वात्तै बढाएको छ । गत वर्ष कम्पनीको नाफा २० करोड १८ लाख रुपैयाँ धनात्मक देखिएको छ ।

अघिल्लो आवको तुलनामा सिद्धार्थ प्रिमियर, एनएलजी इन्स्योरेन्सको नाफा सामान्य वृद्धि भएको छ । गत वर्ष यी कम्पनीहरूले क्रमशः ३६ करोड ३५ लाख रुपैयाँ र २४ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन् ।  

समीक्षा अवधिमा ओरियण्टले ४० करोड, नेपाल इन्स्योरेन्सले ४० करोड, प्रभुले २४ करोड र युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले २० करोड २० लाख रुपैयाँ नाफा कमाएका छन् । 

कुन कम्पनीले कति कमाए नाफा ?


प्रतिक्रिया दिनुहोस्