जलविद्युत् कम्पनीको नियन्त्रणमा सेयर बजार, के यो अनियमनको असर हो ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जलविद्युत् कम्पनीको नियन्त्रणमा सेयर बजार, के यो अनियमनको असर हो ?



काठमाडौं । नेपाली सेयर बजार लगातार दोस्रो वर्ष पनि जलविद्युत् कम्पनीहरुको नियन्त्रणमा देखिएको छ । व्यापक प्रतिफल दिन अधिकांश कम्पनीहरु अक्षम भइरहेका बेलामा पनि दोस्रो बजारमा सबैभन्दा धेरै कारोबार यिनै कम्पनीको हुने गरेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार प्रकाशित गरेको तथ्यांक अनुसार वितेका दुई आर्थिक वर्षमा सेयर बजारको कुल ब्यापारमध्ये एक चौथाईभन्दा धेरै हिस्सा जलविद्युत् समूहले ओगट्दै आएको देखिएको छ । अहिले पनि सेयर बजारमा सूचीकृत कम्पनीहरुको सेयर संख्या र पूँजीलाई आधार मान्ने हो भने बाणिज्य बैंकहरुकै ठूलो दबदबा देखिन्छ ।

गत आर्थिक वर्षमा कुल सूचीकृत कम्पनीमध्ये करीब ५४ प्रतिशत सेयर बाणिज्य बैंकहरुको मात्रै सूचीकृत भएको थियो । बजार पूँजीकरणको आधारमा पनि वित्तीय संस्थाहरु नै अग्रस्थानमा देखिन्छन् । तुलनात्मक रुपमा बैंकहरुको सेयर मूल्य कम भए पनि उनीहरुको सेयर संख्या अत्यधिक भएका कारण पूँजीकरणमा अझै ठूला बैंककै वर्चश्व छ ।

गत असार मसान्तमा वित्तीय संस्थाहरुको पुँजीकरण सिंगो सेयर बजारको ६३ प्रतिशत रहेको थियो । यसमध्ये बाणिज्य बैंकहरुलेमात्रै कुल बजार पुँजीकरणमा करीब ३१ प्रतिशत हिस्सा ओगटेका छन् । बीमा कम्पनीहरुले साढे १५ प्रतिशत र जलविद्युत् क्षेत्रले केवल १३.२ प्रतिशतमात्रै पूँजीकरणमा हिस्सा पाएको छ । त्यसपछि लघुवित्त संस्थाहरुले बजार पूँजीकरणको झण्डै १० प्रतिशत हिस्सा ओगट्छन् ।

तर सेयर संख्या र पूँजीकरण कम भएका, प्रतिफल दरमा पनि धेरै तगडा नदेखिएका जलविद्युत् कम्पनीहरु नै सेयरको दोस्रो बजारमा सबैभन्दा धेरै आकर्षक किन भए ? पछिल्ला दुई वर्षमा जलविद्युत् क्षेत्रले बाणिज्य बैंकको कारोबारलाई समेत जितेको छ । यसले बजारमा प्रत्यक्ष नियमन नभएको क्षेत्रप्रति लगानीकर्ताको चासो बढेको देखाएको सेयर विश्लेषक बताउँछन् ।

पछिल्ला तीन आर्थिक वर्षमा नेप्सेको कुल कारोबारमा समूहगत हिस्सा (प्रतिशतमा)

जलविद्युत् क्षेमा धेरै कम्पनी हुनु र उनीहरुको सेयर संख्या कम हुनुले पनि ‘कर्नरिङ’ गर्न र भित्रि सूचनामा आधारित कारोबार गर्न सघाएको छ । यसले जलविद्युतको सेयरमा बढी सट्टेबाजी सिर्जना भएको नेप्सेका एक अधिकारीले बताएका छन् । ‘कहिल्यै पनि प्रतिफल दिन नसक्ने कम्पनीमा पनि लगानी बढेको छ, सेयर मूल्य बढिरहेको छ’ ती अधिकारी भन्छन्, ‘यसले हाम्रो सेयर बजार आधारभूत पक्षभन्दा टाढा भागिरहेको देखिन्छ ।’

नेप्सेमा हालसम्म ८१ वटा जलविद्युत् कम्पनीहरु सूचीकृत भइसकेका छन् । यो क्षेत्रगत रुपमा सबैन्दा ठूलो संख्या हो । केही अघिसम्म बढी संख्यामा भएको भनिएको लघुवित्त संस्थाहरु केवल ५५ वटामा सीमित बनेका छन् । नेप्सेमा अधिक बजार पूँजीकरण भएका बाणिज्य बैंकको संख्या १८ वटा छ । बीमा कम्पनीको संख्या पनि थोरै छ । जम्मा ८ वटा जीवन र १२ वटा निर्जीवन गरी २० वटा बीमा कम्पनी सूचीकृत छन् ।

जलविद्युत् कम्पनीको सेयरमा बढी कारोबार हुनुलाई कम्पनीको संख्या अत्यधिक हुनु पनि कारण मानिन्छ । तर विगतमा अधिकतर कम्पनीको संख्या लघुवित्तमा हुँदा पनि उनिहरुको कारोबार आकार धेरै भएको थिएन । यसले जलविद्युतको विद्यमान अवस्था नै मुख्य कारण हुनसक्ने संकेत गरेको छ । यसको प्रत्यक्ष नियमन नहुनु, सानो संख्यामा सेयर आउने, धेरै लगानीकर्ताले प्राथमिक सेयर ‘होल्ड’ गरिदिनु र सट्टेबाजहरुले जलविद्युत् कम्पनीलाई नै हतियार बनाएर नाफा बटुल्न खोज्नुले यी कम्पनीको नियन्त्रणमा सिंगो सेयर बजार पुगेको देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्