बीमा कम्पनीको व्यापार बढ्यो: नाफामा जीवन बीमाभन्दा निर्जीवन अगाडि, कसले कति कमाए ? (सूचीसहित) - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बीमा कम्पनीको व्यापार बढ्यो: नाफामा जीवन बीमाभन्दा निर्जीवन अगाडि, कसले कति कमाए ? (सूचीसहित)



काठमाडौँ । नाफामा जीवनभन्दा निर्जीवन बीमा कम्पनीहरू अगाडि देखिएका छन् । गत वर्ष बीमा कम्पनीहरूले पौने १० अर्ब नाफा कमाएका हुन् । 

हाल नेपाल सञ्चालित जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको गत वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । हाल १४ वटा जीवन बीमा र १४ वटा निर्जीवन बीमा कम्पनीहरू सञ्चालनमा छन् ।  यी कम्पनीहरूले गत वर्ष ९ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा कमाएका  हुन् । जुन अघिल्लो आवको तुलनामा ४८.९९  प्रतिशतले बढी हो । अघिल्लो वर्ष ती कम्पनीहरूले कुल ६ अर्ब ५९ करोड रुपैयाँ बढी नाफा कमाएका थिए । 

तर, वित्तीय विवरण अनुसार नाफामा जीवन बीमाभन्दा निर्जीवन बीमा अगाडि देखिएका छन् । समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरूले ५ अर्ब १७ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । निर्जीवन बीमा कम्पनीहरूको नाफा अघिल्लो आवको तुलनामा ४४.६९ प्रतिशतले वृद्धि गरेका हुन् । निर्जीवन बीमा र जीवन बीमा कम्पनीहरूको नाफाको अन्तर ५३ करोड ८१ लाख रुपैयाँले बढी छ । 

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले भने ४ अर्ब ६४ करोड ९ लाख रुपैयाँ बढी नाफा आर्जन गरेका छन् । नाफा वृद्धिमा भने जीवन बीमा कम्पनी अगाडि देखिएका छन् । 

निर्जीवन तर्फको नाफामा राष्ट्रिय बीमा कम्पनी अगाडि

निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै नाफा राष्ट्रिय बीमा कम्पनीले कमाएको छ । समीक्षा अवधिमा ७७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा ६३.१५ प्रतिशतले बढेको हो । 

दोस्रो धेरै नाफा कमाउनेमा भने नेको इन्स्योरेन्स देखिएको छ । कम्पनीले गत वर्ष ५५ करोड ३१ लाख रुपैयाँ बढी नाफा कमाएको छ । यद्यपि, अघिल्लो आवको तुलनामा भने नेकोको नाफा १.५२ प्रतिशतले मात्रै धेरै हो । 

निर्जीवन बीमा तर्फ हिमालयन एभरेष्टले नाफामा छलाङ मारेको छ ।  अघिल्लो वर्षको तुलनामा कम्पनीले नाफा १८४.७५ प्रतिशतले बढाएर ४० करोड ६ लाख रुपैयाँ पुर्‍याएको छ । नाफा ग्रोथकै आधारमा दोस्रो स्थानमा रहेको सानिमा जिआइसीले भने ९३.३५ प्रतिशतले वृद्धि गरि २८ करोड १ लाख रुपैयाँ पुर्‍याएको छ । 

समीक्षा अवधिमा सगरमाथा इन्स्योरेन्स कम्पनीले ४५ करोड ८२ लाख रुपैयाँ, शिखरले ४० करोड ३१ लाख, ओरियण्टलको ४० करोड  र नेपाल इन्स्योरेन्सले ४० करोड बढी नाफा कमाएका छन् । 

यस्तै, सिद्धार्थ प्रिमियर ३६ करोड ३५ लाख, आइजीआई प्रुडेन्सियलले २६ करोड १० लाख, प्रभुले २४ करोड १५ लाख, एनएलजीले २४ करोड १० लाख, युनाईटेड अजोडले २० करोड २० लाख र नेशनल इन्स्योरेन्सले २० करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । 

जीवन बीमामा नेपाल लाइफको अगाडि, ४ वटाको भने घट्यो

जीवन बीमा तर्फ भने गत वर्ष सबैभन्दा धेरै नाफा नेपाल लाइफले कमाएको छ । अघिल्लो आवमा ३५ करोड २७ लाख ऋणात्मक रहेको नेपाल लाइफको नाफा गत वर्ष भने ६७ करोड ४४ लाख धनात्मक छ । 

दोस्रो स्थानमा भने हिमालयन लाइफले फड्को मारेको छ । साविकको प्राइम, गुराँस र युनियन लाइफ एक आपसमा गाभिएर बनेको हिमालयन लाइफले गत वर्ष ५८ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन, अघिल्लो आवको तुलनामा ४२.५० प्रतिशतले बढी हो । 

तेस्रो स्थानमा रहेको सन नेपाल लाइफले पनि ५६ करोड ६५ लाख रुपैयाँ बढी नाफा कमाएको छ । नाफा ग्रोथमा भने सन नेपाल पहिलो स्थानमा छ । कम्पनीले अघिल्लो आवको तुलनामा नाफा १६४ प्रतिशतले बढाएको हो । 

यस्तै, चौथो स्थानमा रहेको सूर्य ज्योतिले पनि ४६ करोड ३ लाख रुपैयाँ कमाएको छ । यता, रिलायवल नेपाल लाइफले पनि ४३ करोड २२ लाख रुपैयाँ नाफा कमाएको हो । 

त्यसैगरि अघिल्लो आवमा नोक्सानीमा रहेको एलआईसीले पनि नाफामा उल्लेख्य सुधार गरेको छ । समीक्षा अवधिमा कम्पनीले १२ करोड ४६  लाख रुपैयाँ नाफा कमाएको हो । तर, अघिल्लो आवमा भने कम्पनी ८ करोड ७४ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । 

गत वर्ष नेशनल लाइफको नाफा ५०.६८ प्रतिशत, मेट लाइफको ३९.६५ प्रतिशत, एशियन लाइफको  १७.६८ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको १.९३ प्रतिशत घटेको छ । 

समीक्षा अवधिमा आइएमई लाइफको नाफा भने ८७.१७ प्रतिशत, सानिमा रिलायन्सको ३७.८८ प्रतिशत, प्रभु महालक्ष्मीको ४४.६८ प्रतिशतले नाफा बढाएका छन् । 


प्रतिक्रिया दिनुहोस्