मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँट, २ लाख २७ हजारले पाए १०।१० कित्ता सेयर
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटले आज आइपीओ बाँडफाँट गरेको हो ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १३ लाख ९५ हजार ७० आवेदकले १ करोड ५४ लाख ९३ हजार ४३० कित्ताका लागि आवेदन दिएका थिए । माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा २ लाख २७ हजार ६६२ जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीले सर्वसाधारणका लागि कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर जारी गरेको थियो । स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको सेयरमा मध्ये बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।
कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो । २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो। त्यसैगरी कम्पनीले ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र १ लाख कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ ।
















