‘अफसिजन’ मै ३९ हजार बढी घर जग्गा किनबेच, सरकारको राजश्व पनि बढ्यो
काठमाडौँ । घर जग्गा कारोबारमा दोहोरो अङ्कको बढोत्तरी देखिएको छ । एक महिनामै ३९ हजार बढी घर जग्गा खरिदबिक्री भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनाको कारोबार विवरण तथ्याङ्कले यस्तो देखाएको हो ।
चालु आवको पहिलो महिनामै ३९ हजार २६३ वटा घर जग्गाको लिखित पारित भएको छ । जुन, अघिल्लो आवको सोही महिनाको तुलनामा १६.०४ प्रतिशतले बढी हो । अघिल्लो आवको साउनमा ३३ हजार ३३ हजार ८३४ वटा घर जग्गा मात्रै खरिदबिक्री भएको थियो । यद्यपि, साउन महिनालाई घर जग्गा कारोबारको सिजन मानिँदैन । तर, पनि अफसिजनमै घर जग्गा कारोबार बढेको हो ।
अघिल्लो आवको तुलनामा कारोबार बढेता पनि गत असार मसान्तसम्मको तुलनामा भने केही गिरावट आएको छ । गत असार महिनामा भने ४८ हजार ७७१ वटा घर जग्गाको लिखित पारित भएको थियो । विशेष गरि कित्ताकाट, बैङ्क तथा वित्तीय संस्थाहरूको तरलता अभाव र ब्याज वृद्धिले नै घर जग्गा कारोबारले गति लिन नसकेको हो ।
जग्गाको सहज रूपमा जग्गा कित्ताकाट हुन नसक्दा नै कारोबारमा कमी आएको व्यवसायीहरु बताउँछन् । सरकारले भू–उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली–०७९ लाई स्वीकृत गर्दै कित्ताकाट खुला गरेको हो । तर, सो निर्णय सहज रूपमा कार्यान्वयन हुन् नसक्दा कारोबार बढ्न सकिरहेको छैन । व्यवसायीहरूले सरकारले कित्ताकाट सहज बनाउन गरेको निर्णयपछि घर जग्गा कारोबार बढ्ने आशा थिए । अब भने घर जग्गा कारोबारले गति लिने उनीहरू बताउँछन् । सरकारले साउन मसान्तमा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको छ । सरकारको सो निर्णयले आगामी दिनमा घर जग्गा कारोबारमा उत्साह आउने विश्वास लिइएको छ ।
विभागको तथ्याङ्क अनुसार गत साउन महिनामा ३ हजार १५९ वटा घर जग्गा नामसारी, ७ हजार ५४७ वटा संशोधन, २८ हजार १३० वटा घर जग्गा रोक्का र २६ हजार ४२३ फुकुवा भएको छ । विभागका अनुसार १ हजार ६९२ वटाको दाखिला खारेज भएको छ ।
देशभरका १२९ वटा मालपोत कार्यालय घर जग्गा कारोबार हुँदै आएको छ । समीक्षा अवधिमा सबैभन्दा धेरै भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट कारोबार भएको छ । सो कार्यालय मार्फत साउनमा २ हजार २५७ वटा घर जग्गा लिखित पारित भएको छ ।
दोस्रो स्थानमा रहेको मालपोत कार्यालय बेलवारी मोरङ १ हजार ६०९ वटा, घर जग्गा किनबेच भएको छ । यस्तै, नेपालगन्ज बाँकेबाट १ हजार ४३८ वटा, जनकपुरधाम धनुषबाट १ हजार ३१७, राजविराज सप्तरी १ हजार १६१ वटा घर जग्गा कारोबार भएको छ ।
त्यसैगरि विराटनगरबाट ८६१, झापाबाट ७८९, सिराहाबाट ७१०, लहानबाट ८८९, काभ्रेपलान्चोकबाट ८४७ वटा, लगनखेल ८३२, भक्तपुर ७९८, कलङ्की काठमाडौँबाट ५३५, मकवानपुरबाट ६७५, बाराबाट ८३२, पर्साबाट ८१२, चितवनबाट ७५१, कास्कीबाट ५१७, तनहुँबाट ५२६, बर्दघाट सुस्ता पश्चिमबाट ६२२, रुपन्देहीबाट ७४७, तौलिहवा कपिलवस्तुबाट ८९४, घोराहीबाट ७३८, तुलसीपुरबाट ७०९, धनगढी कैलाली ८९९ वटा घर जग्गा कारोबार भएको छ ।
साउनमा झन्डै तीन अर्ब राजश्व सङ्कलन
घर जग्गा कारोबारबाट झन्डै तीन अर्ब रुपैयाँ राजश्व सङ्कलन भएको छ । समीक्षा महिनामा २ अर्ब ९१ करोड ३४ लाख २७ हजार रुपैयाँ राजश्व सङ्कलन भएको हो ।
यद्यपि, अघिल्लो आवको तुलनामा भने यो ६.३२ प्रतिशतले मात्रै बढी हो । अघिल्लो आवको साउनमा भने घर जग्गा कारोबारबाट २ अर्ब ७३ करोड ७२ लाख ४१ हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।
विभागका अनुसार २१ करोड ६६ लाख ७९ हजार रुपैयाँ सेवा कर, १ अर्ब १ करोड ३१ लाख ३२ हजार रुपैयाँ पुँजीगत लाभ कर, बागमती बापत १ लाख ७२ हजार र रजिस्टेशन दस्तुर बापत १ अर्ब ९५ करोड २५ लाख ७० हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । सो अवधिमा ३० करोड २५ लाख ७२ हजार रुपैयाँ छुट दिइएको विभागले जनाएको छ ।
















