हिमालयन क्यापिटलको ‘म्युचुअल फण्ड’ मा आवेदन दिनेको ओइरो, कति कित्ता भयो माग ?
काठमाडौं । हिमालयन क्यापिटलले पहिलो पटक निष्कासन गरेको म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षक बिस्तारै बढेको छ । बिहिबार देखि निष्कासनमा ल्याएको हिमालयन ८०–२०मा लगानीकर्ताको थप आकर्षण देखिएको हो । क्यापिटलले कुल १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गरेको हो ।
उक्त फण्डमा २३ हजार ५१२ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात भदौ ३ गते साँझ ५ः०६ बजेसम्म १ करोड ३२ लाख २७ हजार ६०० कित्ताका लागि आवेदन दिएका हुन् । सो आवेदन मार्फत १३ करोड २२ लाख ७६ हजार रुपैयाँ संकलन भएको छ ।
खासमा बिहीबार पहिलो दिन भनिता पनि सिडीएसीको प्राविधिक कारण सिस्टम नचल्दा आवेदनकर्तालाई समस्या भईरहेको थियो । त्यस कारण पनि सो दिन कम आवेदन परेको थियो । तर, आज भने लगानीकर्ताको आकर्षण बढेको हो । क्यापिटलका एक अधिकारीले भने,– ‘हामीले निष्कासनमा ल्याएको म्युचुअल फण्डमा लगानीर्ताको आकर्षण बढदैछ । बिहीबार सीडीएसीको सिस्टमा पनि प्राविधिक खराबी थियो । सिस्टममा समस्या आएपछि कम आवेदन देखियो ।तर, शुक्रबार भने थप लगानीकर्ताको आवेदन परेको छ । ‘
क्यापिटलले निष्कासन गरेको कुल सेयर मध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यो म्युचुअल फन्डमा प्रतिइकाई १० रुपैयाँको दरले भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा भदौ १५ गतेसम्म आवेदन खुला रहनेछ । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ ।
यो म्युचुअल फन्डमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत अनलाइन आवेदन दिन सकिन्छ । हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो । यस योजनाको परिवक्व हुने अवधि १० वर्षको रहेको छ ।













