नेशनल र सानिमा रिलायन्स बाहेक सबै कम्पनीको घट्यो अभिकर्ताले पाउने कमिशन, कसले कति खर्चिए ?
काठमाडौंं । जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई दिने कमिसन घटेको छ । एक वर्षमै अभिकर्ता कमिसशन २ अर्ब २५ करोड बढीले गिरावट देखिएको हो ।
सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुको कमिशनमा १२ अर्ब ४२ करोड ५३ लाख रुपैयाँ खर्चिएका छन् । जुन अघिल्लो आवको तुलनामा १२.६२ प्रतिशतले कमी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुले १४ अर्ब २२ करोड १ लाख रुपैयाँ अभिकर्ताहरुको कमिशनमा खर्चिएका थिए ।
विवरणअनुसार नेशनल लाइफ र सानिमा रिलयान्स बाहेकका अन्य कम्पनीहरुको यस्तो कमिशनमा गिरावट आएको छ । समिक्षा अवधिमा नेशनल लाइफको अभिकर्ता कमिसशन १ अर्ब ५७ करोड २२ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा ३.२२ प्रतिशतले मात्रै बढी हो । अघिल्लो आवमा कम्पनील अभिकर्ता कमिशनका लागि १ अर्ब ५२ करोड ३१ लाख रुपैयाँ खर्चिएको थियो ।
यस्तै, सानिमा रिलायन्सको अभिकर्ता कमिशन भने दोहोरो अंकले वृद्धि भएको छ। समिक्षा अवधिमा कम्पनीले आफ्ना अभिकर्ताका लागि कमिशन बापत ४३ करोड ५७ लाख रुपैयाँ खर्चिएको छ । जुन, अघिल्लो आवको तुलनामा १४.१७ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा अभिकर्ता कमिसनका लागि नेपाल लाइफले धेरै खर्चिएको छ । कम्पनीले ३ अर्ब १० करोड ७० लाख रुपैयाँ खर्चिएको हो । यद्यपि, अघिल्लो आवको तुलनामा भने ११.९८ प्रतिशतले घटेको हो ।
वित्तीय विवरण अनुसार सबैभन्दा कम अभिकर्ता कमिसन राष्ट्रिय बीमा संस्थानले खर्चिएको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो खर्च १८ करोड २४ लाख रुपैयाँ रहेको छ ।
तरलता अभाव, महँगी, आर्थिक सङ्कट लगायतका कारण बीमा व्यवसायमा त्यत्ति सुधार हुन सकेको छैन । व्यवसायको आकार बढेता पनि पुराना बीमितले पोलिसी नवीकरण गर्न सकिरहेको पनि छैनन् भने नयाँ बीमा व्यवसाय पनि खास बढ्न सकेको अवस्था छैन । यस्ता कारण पनि अभिकर्ताहरुले पाउने कमिसनमा गिरावट आएको हो । बीमा अभिकर्ताहरुलाई नयाँ व्यवसायबाट नै बढी कमिसन आउने गर्दछ । तर, पछिल्लो समय नयाँ बीमा व्यवसायमा नबढ्दा यस्तो कमिसनमा कमी देखिएको हो । बीमा व्यवसाय ल्याए बापत बीमा कम्पनीहरूले अभिकर्तालाई बीमा शुल्कबाट तोकिएको मात्रामा कमिसन दिनुपर्ने कानुनी व्यवस्था छ । तर, बीमा शुल्क सङ्कलन न्यून भएपछि कमिसन पनि घटेको बताइएको छ ।
बीमालेख बिक्री गरेबापत नै बीमा अभिकर्ताले कमिसन प्राप्त गर्दछन् । अभिकर्तालाई जीवन बीमामा पहिलो वर्ष प्रिमियमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत, त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले कमिसन दिने गरिन्छ । अभिकर्ताले पाउने कमिसन बिक्री गरेको पोलिसीको प्रकार र त्यसको सङ्ख्याको आधारमा निर्धारण हुने गर्दछ ।
गत वर्ष लाइफ इन्स्यारेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले अभिकर्ता कमिसनका लागि १ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ, हिमालयन लाइफले १ अर्ब ४१ करोड ६५ लाख रुपैयाँ खर्चिएका छन् ।
यस्तै, सूर्य ज्योति लाइफले ७६ करोड २० लाख रुपैयाँ, सिटिजन लाइफले ७१ करोड ८८ लाख, एशियन लाइफले ७१ करोड ५४ लाख, रिलायवल नेपालले ५० करोड ८० लाख, मेट लाइफले ४७ करोड ६९ लाख, आइएमईले ४६ करोड ४२ लाख, सन नेपालले ३४ करोड ६६ लाख र प्रभु महालक्ष्मी लाइफले २८ करोड ३७ लाख रुपैयाँ अभिकर्ता कमिसनका लागि खर्चिएका छन् ।
कुन कम्पनीले कति खर्चिए ?

















