पुँजी पुर्याउन नेपाल इन्स्योरेन्सको कसरत: मूल्य तोकेरै काठमाडौंसहित ४ ठाउँको घर जग्गा बिक्रीमा ल्यायो
काठमाडौं । नेपाल इन्स्योरेन्स विभिन्न चार जिल्लामा रहेको घर जग्गा बिक्री गर्न लागेको छ । कम्पनीले चार वटा जिल्लामा रहेको ४२ करोड ६३ लाख रुपैयाँ बढीको घर जग्गा गोप्य शिलबन्द प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।
कम्पनीले तोकिएको न्युनतम चुक्ता पुँजी पुर्याउन सम्पत्ति बिक्री गर्न लागेको हो । नेपाल बीमा प्राधिकरणले तोकेको नअुपग पुजी वृद्धिका लागि कम्पनीले आफ्नो स्वामित्वमा रहेको विभिन्न स्थानका घर जग्गा बिक्री गर्न लागेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँ छ । निर्जीवन बीमा कम्पनीका लागि प्राधिकरणले न्युनतम २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । कम्पनीलाई अब १ अर्ब पुँजी आवश्यक छ । नपुगेको पुँजी पुर्याउन कम्पनीले सम्पत्ति बिक्रीको प्रस्ताव गरेको थियो ।
सोही अनुसार नै कम्पनीले काठमाडौं न्युरोडको ५७ हजार ६३ वर्ग मिटरमा बनेको ५ तले पक्की घर र जग्गा बिक्री गर्न लागेको छ । सो घर जग्गाको न्युनत मूल्य भने १० करोड ५७ लाख १८ हजार ५६० रुपैयाँ तोकिएको छ ।
यस्तै, मोरङ जिल्लाको विराटनगरमा रहेको ५ कठ्ठा ४ धुर जग्गा न्युनतम मूल्य ९ करोड ९७ लाख ४ हजार, विरगन्जको क्षेत्र १०२५.२० वर्ग मिटरमा जग्गा र सो जग्गामा बनेको ३ तले पक्की घर र ट्रष्टको घर न्युनतम १० करोड ७९ लाख ७६ हजार ६३७ रुपैयाँमा बिक्रीमा ल्याएको छ ।
त्यसैगरि गरि चितवनमा रहेको ३ कठ्ठा १७ धुर जग्गा ११ करोड २९ लाख ७० हजार रुपैयाँमा बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि पनि सो घर जग्गा बिक्रीमा ल्याएको थियो । तर, बिक्री नभएपछि पुन: मूल्य तोकेरै बिक्रीमा ल्याएको हो ।
सो स्थानहरुको घर जग्गा खरिद गर्न इच्छुक व्यक्ति, संघ संंस्थाहरुले आजैका मितिले १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
ती घर जग्गा खरिदका लागि कम्पनीको केन्द्रीय कार्यालय कमलादी र सम्वन्धित शाखा कार्यालहरुबाट बोलपत्र फारम (१ हजार भुक्तान गरि ) प्राप्त गर्न सकिनेछ । बोलपत्र पेश गर्दा न्यूनतम मूल्य भन्दा कम नहुने गरि प्रस्ताव गर्नुपर्नेछ । सम्पत्ति बिक्री शिलबन्दी भदौ १८ गते सोमबार ५ बजेसम्म पेश गर्न सकिनेछ । शिलबन्दी भने भदौ २४ गते आइतबार ३ बजे खोलिने कम्पनीले जनाएको छ ।
















