विश्वविद्यालयको पुस्तकालयमा अध्ययन गर्दा वर्षको ११ सय तिर्नुपर्ने !
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालयले पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क तोकेपछि विद्यार्थी आक्रोशित भएका छन् ।
उनीहरुले शुल्क अव्यवहारिक भएको भन्दै आपत्ती जनाएका हुन् । केन्द्रिय पुस्तकालयले भदौ १ गतेदेखि विद्यार्थीले पुस्तकालय भित्र बसेर अध्ययन गर्न चाहे शुल्क तिर्नुपर्ने मापदण्ड बनाएको थियो । मापदण्डअनुसार अब ६ महिना सदस्यता बन्न ६ सय रुपैयाँ र परिचयपत्र शुल्क एक सय गरी सात सय रुपैयाँ, एक वर्ष सदस्यता बन्न एक हजार रुपैयाँ र परिचयपत्र शुल्क एक सय गरी ११ सय रुपैयाँ तिर्नुपर्नेछ । केन्द्रिय पुस्तकालयको यो निर्णय उपयुक्त नभएको विद्यार्थीको गुनासो छ ।
विद्यार्थी रामहरि लामिछानेले पुस्तकालयमा बसेर अध्ययन गर्ने शुल्क महँगो भएको बताए। लामिछानेले पुस्तकालयमा स्वतःस्फुर्त रुपमा विद्यार्थी जान पाउनुपर्ने भन्दै पुस्तकालयमा बसेको शुल्क लिने निर्णय विद्यार्थीको हीतमा नभएको बताए। विद्यार्थी अध्ययनकै लागि पुस्तकालय जाने गरेको भन्दै कतै काम नगर्ने विद्यार्थी पनि रहेको भन्दै उनीहरुलाई शुल्क तोक्दा अफ्ठ्यारो भएको बताए ।
यस्तै अर्का विद्यार्थी खगेन्द्र रिजालले पुस्तकालयले त्रिविमै अध्ययनरत विद्यार्थीबाट समेत अध्ययनका लागि बस्न शुल्क लिएको गुनासो गरे । पुस्तकालयले बसेर अध्ययनका लागि शुल्क लिने निर्णयले आर्थिक रुपमा विपन्न विद्यार्थी मर्कामा परेको बताए। रिजालले कतिपय विद्यार्थीहरु कीर्तिपुरमा बसेर पढ्नका लागि जुम्ला, कालीकोट, मुगु लगायतका विकट जिल्लाहरुबाट पनि आउने गरेको भन्दै आर्थिक अवस्था कमजोर भएकालाई शुल्क तिर्न गाह्रो हुने बताए ।
अर्का विद्यार्थी अशोक कार्कीले अन्य विकल्प नभएपछि शुल्क तिरेरै अध्ययान गर्न बाध्य भएको बताए । कार्कीले आफू पुस्तकालयमा आउने नियमित विद्यार्थी भएको भन्दै शुल्क तोक्दा अहिले विद्यार्थी संख्या घटेको बताए।
यता, त्रिवि केन्द्रिय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले पुस्तकालयमा लोकसेवा, जापनिज भाषा पढ्नेहरुले हडपेर बस्ने अवस्था आएपछि व्यवस्थित गर्न पुस्तकालयमा अध्ययन गर्न शुल्क निर्धारण गरेको बताए। झोला राखेर विद्यार्थीहरु बाहिर जाने र केन्द्रिय क्याम्पसका विद्यार्थीले पढ्न नपाउने स्थिति भएपछि विश्वविद्यालयले नियमन गरेको बताए ।
ओझाले भने, ‘केन्द्रिय पुस्तकालयको नियमित सुविधा लिन चाहने विश्वविद्यालयको विद्यार्थी नभएको मान्छेले कम्तीमा एउटा नियममा बसेर हामीले अपनत्व महशुस गराउन खोजेका हौं । त्यस्तो महँगो शुल्क होइन । एउटा रेकर्डको लागि पनि हो । पाँच÷सात सय रुपैयाँ महँगों नहोला । ’
पुस्तकालयमा दैनिक सात सयदेखि एक हजार विद्यार्थी अध्ययन गर्दै आएका छन् । त्रिवि केन्द्रिय पुस्तकालयभित्र लामो समयसम्म बसेर अध्ययन गर्न खोज्ने विद्यार्थीको हकमा अनिवार्य रुपमा सदस्य हुने व्यवस्था गरीएको हो ।













