ललिता निवास जग्गा हिनामिना प्रकरणबारे सीआईबीले प्रतिवेदन बुझायो
काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौमा बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन प्राप्त बताए ।
सीआईबीले यस प्रकरणमा संलग्न भनिएकाहरूसँग अस्ति आइतवार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको बयान लिएको थियो भने हिजो सोमवार नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साह (टक्ला) लगायतको बयान लिएको थियो ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई प्रतिवादी नबनाई साक्षीका रूपमा मात्र रहने अनुसन्धान प्रतिवेदन भनिएको छ । चार पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय साह तथा पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, युवराज भुसाल र नारायणगोपाल मलेगोसहितलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।
















