बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुन्छ: मन्त्री बस्नेत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुन्छ: मन्त्री बस्नेत



चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने बताए । 

भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग आज कुराकानी गर्दै मन्त्री बस्नेतले सम्झौतासम्बन्धी यसै वर्ष औपचारिक रूपमा घोषणा समेत गरिने स्पष्ट पारेका छन् ।  

उनले भने–‘औपचारिकता दिनुपर्ने केही काम बाँकी छन्, त्यो पनि अन्तिम चरणमा आइपुगेको छ । सम्झौतापछि कार्यान्वयनमा जान्छ । सुख्खा र वर्षा दुवै समयमा नेपाल विद्युतमा आत्मनिर्भर हुन लागेको छ । हामी पूर्ण रुपमा आत्मनिर्भर बन्दैछौँ,  यससँगै सबै समस्याको समाधान हुन्छ ।’ 

वर्षामा विद्युत् बढी उत्पादन हुने र सुख्खा याममा अपुग हुने स्थिति छिट्टै समाधान हुने मन्त्री बस्नेतको दाबी छ । उत्पादन वृद्धि गरेर वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम हाल भइरहेको उनको भनाइ छ । ५० प्रतिशत क्षेत्रमा मात्रै भएको विद्युतीकरणलाई बढाएर ९८ प्रतिशत क्षेत्रमा पुर्‍याएको भन्दै उनले हाल देखिएका समस्या छिट्टै समाधान हुने दाबी गरे । 

उनले, –‘अबको सुख्खा सिजनमा अहिले देखिएका समस्या समाधान भएर जान्छन् । सरकारले एकीकृत योजनाका साथ ऊर्जा क्षेत्रको उत्पादन, प्रसारण र वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम गरिरहेको छ, यससँगै सर्वसुलभ रूपमा विद्युत् व्यापार गर्ने विषयलाई समेत जोडेर एकीकृत योजनाका साथ अघि बढेको छ।’


प्रतिक्रिया दिनुहोस्