साउनमा निर्यात ८.६५ प्रतिशत र आयात १.५६ प्रतिशतले घट्यो, सवा खर्बको वैदेशिक व्यापार घाटा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

साउनमा निर्यात ८.६५ प्रतिशत र आयात १.५६ प्रतिशतले घट्यो, सवा खर्बको वैदेशिक व्यापार घाटा



काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा आयात र निर्यात दुवै घटेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा निर्यात १ अर्ब २८ करोड रुपैयाँले घटेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको पहिलो महिनामा कुल १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजार रुपैयाँ बराबरको माल वस्तु निर्यात भएको छ। जुन अघिल्लो आवको सोही महिनाको तुलनामा ८.६५ प्रतिशतले कमी हो । गत वर्ष आवको साउनमा नेपालले १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो ।

विभागका अनुसार समिक्षा महिनामा आयात भने सामान्य घटेको छ । अघिल्लो आवको साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँ बराबरको आयात भएको थियो । तर, चालु आवको सोही महिनामा भने १.५६ प्रतिशतले घटेर १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँ कायम भएको छ ।

चालु आवको पहिलो महिनामा वैदेशिक व्यापार घाटा भने १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख रुपैयाँ छ । यो अघिल्लो आवको तुलनामा भने ०.६६ प्रतिशतले मात्रै कमी हो । अघिल्ला वर्षको साउनमा यस्तो घाटा १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा महिनामा वैदेशिक व्यापार २.२८ प्रतिशतले घटेको छ । गत साउनमा १ खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख रुपैयाँ वैदेशिक व्यापार भएको छ । तर, गत वर्षको साउनमा भने कुल १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्