भगवती हाइड्रोपावरको आइपीओमा माग भन्दा १४.९४ गुणा बढीको आवेदन
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा १ अर्ब २३ करोड ४९ लाख ६२ हजार ६८० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात भदौ ७ गते बिहान १०ः०७ बजेसम्म ९ लाख ५४ हजार ७०१ जनाले १ करोड ६ लाख ४६ हजार २३० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १४.९४ गुणा बढी आवेदन हो ।
कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्कासन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्री गरेको हो । यसमा ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ छ । यसको १५ प्रतिशतले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री भइसकेको छ ।
५ प्रतिशत अर्थात ४२ हजार ९०५ कित्ता सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आइपीओमा भदौ ८ गतेसम्म आवेदन दिन सकिने छ भने सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा भदौ १९ गतेसम्म खुला रहनेछ ।
















