दबाबमा देखियो भन्सार राजश्व, चालु आवको पहिलो महिनामा कुन नाकाबाट कति आयात–निर्यात ?
काठमाडौं । आयात मार्फत सरकारलाई प्राप्त हुने राजश्व दबाबमा देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात् साउनमा भन्सार राजश्व सामान्य वृद्धि भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आवको साउन मसान्तसम्मको वैदेशिक व्यापार सम्बन्धीको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको साउनमा सरकारले ३२ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ भन्सारबाट राजश्व प्राप्त गरेको छ । जुन अघिल्लो आवको सोही महिनाको तुलनामा १.१७ प्रतिशतले मात्रै बढी हो । गत वर्षको साउनमा भने यस्तो राजश्व ३१ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको थियो ।
आयात नबढ्दा नै यस्तो राजश्व सङ्कलन दबाबमा देखिएको छ । चालु आवको पहिलो महिनामा आयात १.५६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँ बराबरको माल वस्तु आयात भएको थियो । तर, चालु आवको सोही महिनामा भने २ अर्ब ४ करोड ७० लाख रुपैयाँले घटेको हो । समीक्षा महिनामा कुल १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँ बराबरको आयात भएको छ ।
नेपालमा पछिल्लो समय आयात बढ्न सकेको छैन । विशेषगरि आर्थिक सङ्कटका कारण नेपालमा आयात बढ्न नसकेको हो । महँगी लगायतका कारण उपभोक्ताको क्रय शक्ति घटेको छ । त्यसले बजारमा वस्तुको माग घटाएको छ । यसरी बजारमा माग घट्दा आयात बढ्न सकेको छैन, जसको प्रभाव राजश्व सङ्कलनमा पनि देखिएको हो ।
नेपाल सरकारको आम्दानी नै राजस्व सङ्कलनमा निर्भर छ । त्यसमा पनि आयातमार्फत हुने राजस्वमै सरकारको आम्दानी बढी निर्भर छ । सरकारको कुल राजश्वमा ४० प्रतिशतदेखि ५० प्रतिशतसम्मको हिसा भन्सार राजश्वले ओगटेको हुन्छ । समीक्षा अवधिमा पनि यसको हिस्सा ४५.३२ प्रतिशत छ । यसरी आयात घट्नुलाई सकारात्मक रूपमा लिए पनि राजस्व सङ्कलनमा प्रभावित हुने गरेको विज्ञहरूको भनाई छ ।
साढे ८ प्रतिशतले घट्यो निर्यात
चालु आवको पहिलो महिनामा नेपालबाट हुने निर्यात पनि घटेको छ । समीक्षा अवधिमा निर्यात १ अर्ब २८ करोड १० लाख रुपैयाँले घटेको छ ।
चालु आवको साउनमा कुल १३ अर्ब ५२ करोड ८६ लाख रुपैयाँ माल वस्तु नेपालले निर्यात गरेको सरकारी आँकडा छ । जुन, अघिल्लो आवको समीक्षा महिनाको तुलनामा ८.६५ प्रतिशतले कमी हो । अघिल्लो वर्षको साउनमा भने १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।
चालु आवको पहिलो महिनामा वैदेशिक व्यापार घाटा भने १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख रुपैयाँ छ । यो अघिल्लो आवको तुलनामा भने ०.६६ प्रतिशतले मात्रै कमी हो । अघिल्लो वर्षको साउनमा यस्तो घाटा १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ रहेको थियो ।
१३ नाकाबाट शून्य निर्यात, कुन नाकाबाट कति आयात–निर्यात ?
नेपालमा हाल २६ वटा भन्सार नाका रहेका छन् । तीमध्ये सबै नाकाबाट आयात भएका छन् । तर, १३ वटा नाकाबाट भने निर्यात नभएको देखिएको छ ।
सरकारी आँकडा अनुसार भद्रपुर, चोभार, गौर, गौतमवुद्ध एयरपोर्ट, जनकपुर, महेश्वरपुर, राजविराज, सती, सिराहा, सुनसरी, सुथौली, तातोपानी, ठाँडी बाट निर्यात नभएको हो ।
ती नाकामध्ये सबैभन्दा धेरै आयात वीरगन्जबाट आयात भएको छ । समीक्षा महिनामा सो भन्सार नाकामार्फत ४२ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । वीरगन्ज नाकाको आयात हिस्सा ३२.५७ प्रतिशत रहेको छ । सो भन्सार कार्यालयको निर्यात कुल वस्तु निर्यातको १७.९२ प्रतिशत हिस्सा छ । समीक्षा महिनामा सो नाका मार्फत २ अर्ब ४२ करोड ४५ लाख रुपैयाँ बराबरको माल वस्तु तथा सेवा निर्यात भएको देखिएको छ।
आयात हुनेको दोस्रो स्थानमा भने भैरहवा भन्सार रहेको छ। सो भन्सार मार्फत गत साउनमा २१ अर्ब ३६ करोड ६१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरिएको छ। यसको आयात हिस्सा भने १६.५३ प्रतिशत रहेको छ। सो भन्सार मार्फत एक महिनामा १ अर्ब ६ करोड ९३ लाख रुपैयाँ बराबरको निर्यात गरिएको छ । यसको निर्यात हिस्सा भने ७.९० प्रतिशत रहेको छ ।
यस्तै, ड्राइपोटमार्फत १९ अर्ब २० करोड ३७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरिएको छ । यसको आयातमा १४.८६ प्रतिशत हिस्सा छ । सो भन्सार मार्फत गत साउन महिनामा ४५ करोड २८ लाख रुपैयाँ बराबरको निर्यात भएको देखिएको छ।
यस्तै, विराटनगर भन्सार मार्फत १५ अर्ब ६५ करोड ८३ लाख रुपैयाँ बराबरको आयात भएको छ । यसको आयातमा १२.१२ प्रतिशत हिस्सा रहेको छ । सो नाका मार्फत समीक्षा महिनामा २ अर्ब ६९ करोड १० लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यसको निर्यात हिस्सा भने १९.८९ प्रतिशत रहेको छ ।
यस्तै, अन्तर्राष्ट्रिय त्रिभुवन विमान स्थलको नाकाबाट भने १२ अर्ब २७ करोड ७० लाख रुपैयाँ बराबरको आयात भएको छ। यसको आयात हिस्सा ९.४९ प्रतिशत छ । तर, सो भन्सार मार्फत सबैभन्दा धेरै निर्यात हुने गरेको छ। समीक्षा महिनामा सो भन्सार मार्फत ३ अर्ब ३२ करोड ६७ लाख रुपैयाँ बराबरको माल वस्तु निर्यात गरिएको छ। यसको निर्यात हिस्सा २४.५९ प्रतिशत रहेको छ।

















