१६ वर्षअघि उच्च शिक्षाका लागि विदेशीएका सागरले अष्ट्रेलियामा खोले दोस्रो कलेज - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

१६ वर्षअघि उच्च शिक्षाका लागि विदेशीएका सागरले अष्ट्रेलियामा खोले दोस्रो कलेज



काठमाडौं। तनहुँबाट उच्च शिक्षाका लागि १६ वर्ष अघि अष्ट्रेलिया पुगेका सागर लोहनीले आफ्नो स्वामित्वमा अस्ट्रेलियामै दोस्रो कलेज सञ्चालनमा ल्याएका छन् । अष्ट्रेलियाको चर्चहिल ईन्स्टिच्युट अफ हायर एजुकेसनु कलेज भर्खरै लोहनी लगायतको स्वामित्वमा सञ्चालनमा आएको हो ।

कलेजमा ब्यचलर्स इन बिजनेस अन्तर्गत आइटी, एकाउन्ट, म्यानेजमेन्ट र हस्पिटालिटीमा पढाइ हुने लोहनीले बताए । पछिल्लो समय अष्ट्रेलिया उच्च शिक्षाका लागि जाने विद्यार्थीहरूका लागि ध्यानमा राखी नयाँ कलेज सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

यसअघि अष्ट्रेलियाको न्यू साउन वेल्समा उनको स्वामित्वमा प्राविधिक कलेज इन्टरनेसनल इन्स्टिच्युट अफ एजुकेसनु सञ्चालनमा आइसकेको छ । लोहनीले ३ बर्ष देखि अस्ट्रेलियामै चाइल्ड केयर समेत सन्चालन गर्दै आइरहेका छन् । उक्त चाइड केयरलाई अस्ट्रेलियाको स्टेट सरकारले ५३ बिलियन डलरको पाठ्यक्रम सम्बन्धी पाइलट प्रोजेक्ट संचालन गर्नका लागि चयन गरेको लोहनीले जानकारी दिए ।

लोहनीले लामो समय अष्ट्रेलियामा विभिन्न भोकेसनल कलेजहरूमा आवद्ध भएपश्चात कलेज सञ्चालनमा ल्याएका हुन् ।
अस्ट्रेलिया प्रवेशको सुरुवातीताका रिटेल चेनमा काम गरेको अनुभव समेट्दै लोहनीले हाल सिड्नीमा साथीमार्टु पनि सन्चालनमा ल्याएका छन् ।

लोहनी अस्ट्रेलियाको पार्लामेन्ट अन्तर्गतको नेशनल लिडरसीप फोरमुमा कार्यकारी सदस्य समेत रहेका छन् । अब छिट्टै नेपालमा रियल स्टेट र हस्पिटालिटीको ब्यवसायमा आवद्ध हुने योजना रहेको लोहनी बताउँछन् ।

लोहनीले अष्ट्रेलियामा रहेर नेपालमा समाजसेवा समेत गर्दै आइरहेका छन् । उनकै नेतृत्वमा विभिन्न सरकारी अस्पतालमा स्वास्थ्य उपकरण लगायतका सामग्री साथै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई छात्रावृत्ती र खेलकुद सामग्री उपलब्ध गराउँदै आइरहेका छन् ।

सन् २००८ मा अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न गएका लोहनीले अस्ट्रेलियाकै युनिभर्सिटीबाट कानून, एकाउटिङको अध्ययनसँगै एमबिए समेत गरेका छन् । हाल उनी पिएचडी फेलो हुन् ।


प्रतिक्रिया दिनुहोस्