दाबी भुक्तानीमा अब्बल सिद्धार्थ प्रिमियर, शिखर र हिमालयन एभरेष्ट इन्स्योरेन्स: नेको, सलिकोले कति दिए ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानी दोहोरो अङ्कले वृद्धि भएको छ । गत वर्ष निर्जीवन बीमा कम्पनीहरूले २० अर्ब ६३ करोड २८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।
सञ्चालनमा रहेको १४ वटा निर्जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्षको दाबी भुक्तानी अघिल्लो वर्षको तुलनामा ३५.२१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको असार मसान्तसम्ममा कुल १५ अर्ब २५ करोड ९६ लाख रुपैयाँ दाबी भुक्तानी दिएका थिए । गत वर्ष कम्पनीहरूले कुल १ लाख ३९ हजार ९८८ वटा दाबी भुक्तानी दिएका हुन् ।
गत वर्ष सबैभन्दा धेरै दाबी भुक्तानी दिनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अगाडि देखिएको छ । कम्पनीले गत वर्ष २ अर्ब ९९ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी दिएको हो । जुन अघिल्लो आवको तुलनामा १८१.९२ प्रतिशतले बढेको हो । गत वर्ष कम्पनीले १० हजार ४९६ वटा दाबी भुक्तानी गरेको जनाएको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा कम्पनीले कुल १ अर्ब ६ करोड १८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको थियो ।
दोस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्स कम्पनीले गत वर्ष २ अर्ब ७७ करोड २५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा भने कम्पनीको दाबी भुक्तानी रकम २७.९६ प्रतिशतले बढेको हो । संंख्याको आधारमा भने शिखरको धेरै छ । गत वर्ष कम्पनीले २९ हजार २३५ वटा दाबी भुक्तानी गरेको हो ।
तेस्रो स्थानमा भने हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी छ । गत वर्ष कम्पनीले २ अर्ब ५० करोड ८३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले गत वर्ष ११ हजार ८५८ वटा दाबी भुक्तानी गरेको हो । जुन अघिल्लो आवको तुलनामा ४०.२४ प्रतिशतले बढेको हो ।
चौथो नम्बरको सूचीमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) गत वर्ष २ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत वर्ष कम्पनीले १४ हजार ३०९ वटा दाबी भुक्तानी गरेको हो । पाँचौँ स्थानमा रहेको एनएलजी इन्स्योरेन्सले गत वर्ष २ अर्ब १४ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले ९ हजार ८८८ वटा दाबी भुक्तानी दिएको हो ।
अघिल्लो वर्षको तुलनामा राष्ट्रिय बीमा कम्पनी र प्रभु इन्स्योरेन्सको दाबी भुक्तानी भने घटेको छ । राष्ट्रिय बीमा कम्पनीले अघिल्लो वर्ष ३५ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । तर, गत वर्ष भने ५०.०६ प्रतिशतले घटेर १७ करोड ६२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। यता, प्रभु इन्स्योरेन्सको भने सामान्य घटेको हो । गत वर्ष प्रभुले ७४ करोड ९६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले १८ हजार ७२८ वटा दाबी भुक्तानी गरेको हो ।
समीक्षा अवधिमा नेको इन्स्योरेन्सले १ अर्ब ६५ करोड ७४ लाख, आइजीई प्रुडेन्सियलले १ अर्ब १ करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।
अघिल्ला वर्षको तुलनामा सबैभन्दा धेरै दाबी भुक्तानी बढाउनेमा भने सानिमा जिआईसी रहेको छ । कम्पनीले गत वर्ष ९८ करोड ७६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो ।जुन अघिल्लो वर्षको तुलनामा २७४ प्रतिशतले बढी हो ।
यस्तै, ओरियण्टल इन्स्योरेन्सले ९६ करोड २८ लाख, नेशनलले ९१ करोड २२ लाख, युनाईटेड अजोडले ८० करोड ३५ लाख र नेपाल इन्स्योरेन्सले ७४ करोड ९६ लाख रुपैयाँ दाबी भुक्तानी दिएका हुन् ।
कुन कम्पनीको दाबी भुक्तानी कति ?

















