सुन व्यापारमा ‘अफसिजन’: बजार माग नहुँदा २९ प्रतिशतले घट्यो आयात, किन रोकियो गहना निर्यात ?
काठमाडौं । सुन आयात दोहोरो अङ्कले घटेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा झन्डै दुई अर्बको मात्रै सुन आयात भएको छ । जुन, अघिल्लो आवको सोही महिनाको तुलनामा २९.०८ प्रतिशतले कमी हो । अघिल्लो वर्षहरूमा सुन आयात निकै बढेको थियो । तर, पछिल्लो समय घट्दै गएको छ । गत वर्षको साउनमा पनि नेपालले २ अर्ब ५७ करोड ९६ लाख रुपैयाँ बढीको सुन आयात गरेको थियो ।
भन्सार विभागका अनुसार अघिल्लो आवको पहिलो महिनामा २६१ केजी बढी सुन आयात भएको थियो । तर, चालु आवको समीक्षा अवधिमा भने ४० केजीले घटेर २२१ केजी सुन मात्रै आयात भएको विभागले जनाएको छ । अहिले सुनको सिजन नभएकाले पनि आयात घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मनिक रत्न शाक्यले बताए । अर्थपथसंग उनले भने,–‘अहिले सुनको अफसिजन छ, बजारमा माग पनि छैन । डिमान्ड नभएपछि आयात पनि बढ्ने कुरा भएन ।’
यता, सुन आयातमा कोटा निर्धारण गरेपछि नै आयात घटेको अध्यक्ष शाक्यको भनाई छ । सरकारले हाल दैनिक १० केजी मात्रै आयात गर्न पाउने व्यवस्था छ । तर, यसअघि भने दैनिक २० केजी सुन आयात गर्न सकिने व्यवस्था रहेको थियो । पछिल्लो समय देखिएको आर्थिक सङ्कट र मूल्य वृद्धि लगायतको मारमा उपभोक्ताहरू परेका छन् । उनीहरूको खर्च गर्ने क्षमता पनि घटेको छ । पहिले पहिले जस्तो माग पनि खास छैन । त्यसको प्रत्यक्ष असर सुन आयातमा देखिएको छ । यद्यपि, अहिले अफसिजन भएकाले आयात घटेको महासङ्घले जनाएको छ । अब बिस्तारै चाडपर्वहरू नजिकिएकाले यसको माग पनि बढ्ने महासङ्घ अध्यक्ष शाक्यले बताए । उनले भने,–‘अहिले अफसिजन भएकाले पनि यसको माग छैन । अब चाडपर्व नजिकिएको छ, यसको व्यापार अब बढ्छ ।’
भन्सार विभागको तथ्याङ्क अनुसार औसतमा दैनिक ८ केजी सुन नेपालले आयात गरेको छ । जुन, दैनिक कोटाको औसतभन्दा कम हो । नेपालमा युनाईटेड अरब इमिरेट्स (युएई), टर्की लगायतका देशहरुबाट सुन आयात हुने गरेको छ। चालु आवको पहिलो महिनामा युएईबाट १ अर्ब ६५ करोड ३७ लाख रुपैयाँ बढीको सुन आयात भएको छ । त्यसका अन्य मुलुकबाट भने ७५ करोड ५६ लाख बढीको सुन आयात भएको छ । चालु आवको पहिलो महिनामा सो बराबरको सुन आयातबाट सरकारले २७ करोड ५० लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ।
साउनमा किन भएन सुनको गहना निर्यात ?
काँचो सुन अभावका कारण नेपालबाट निर्यात हुने सुनका गहना भने प्रभावित भएको छ । अघिल्लो वर्षको साउन महिनाको तुलनामा सुनका गहना निर्यात शतप्रतिशत घटेको छ अर्थात् साउन गहना निर्यात नै भएको छैन । अघिल्लो वर्षको साउनमा ४ करोड ४५ लाख ५४ हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको थियो । तर, चालु आवको सोही महिनामा भने शून्य निर्यात भएको हो ।
गत आव २०७९/८० भर भने कुल १८ करोड ८७ लाख ३१ हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको थियो । ‘सुनको डिमान्ड नै नभएकाले आयात घटेको छ, यसको प्रभाव गहना निर्यातमा पनि देखिएको हो’–अध्यक्ष शाक्यले बताए । अहिले बजारमा सुनको माग कम छ, माग नभएपछि निर्यात पनि नभएको हो ।
सुनचाँदी व्यवसायीले नेपाली मौलिक गरगहना निर्यातमा जोड दिँदै छन् । व्यवसायीहरूले नेपाली परम्परागत कला कौशल युक्त गरगहनाको निर्यात गर्दै आएका हुन् । त्यस्ता गहना बनाई निर्यातबाट रोजगारी प्रवर्द्धन गर्दै मुलुकमा विदेशी मुद्रा आर्जनको समेत प्रशस्त सम्भावना औँल्याउँदै आएका थिए । सुनको गहनाको निर्यात बढाउन सके विदेशी मुद्रा आम्दानी बढ्ने व्यवासायीहरुको भनाई छ ।
भन्सार विभागले एचएस कोड दिएपछि आव २०७७/७८ देखि नेपालबाट सुनका गहना विदेश निर्यात हुन थालेको थियो । बिशेषगरि अमेरिका, अस्ट्रेलिया र हङकङमा सुनका गरगहना निर्यात हुने गरेको छ । विशेषगरि विदेशी मुलुकमा बन्न नसक्ने मौलिक सुनका गहना नेपालबाट निर्यात हुने गरेको छ । विदेशी मुलुकमा नेपालीहरूको बसोबास देशहरूबाट यस्ता सुनका गहनाको माग हुने गरेको छ । अब बिस्तारै यसको माग बढ्दै जाने महासङ्घले जनाएको छ ।
















