सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ल्यायो पहिलोपटक प्रविधिमैत्री ‘एसपीआईएल–डिजी’ बीमा, २ घण्टामै दाबी पाइने  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ल्यायो पहिलोपटक प्रविधिमैत्री ‘एसपीआईएल–डिजी’ बीमा, २ घण्टामै दाबी पाइने 



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक डिजिटल बीमाको शुभारम्भ गरेको छ ।  

कम्पनीले विद्युतीय माध्यमबाट बीमा लेख जारी गर्न तथा दाबी फर्छ्यौट गर्न एसपीआईएल–डिजी प्रणाली प्रचलनमा ल्याएको हो । अब सो प्रणाली मार्फत बीमित अनलाइनबाटै सहज रूपमा बीमा लेख खरिद गर्न सक्नेछन् । यसका साथै निश्चित रकमसम्मको बीमा दाबी फर्छ्यौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्नेछन् । 

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवारले निजी कार र मोटरसाइकल दुर्घटना परेको अवस्थामा अनलाइनको माध्यमबाट ५० हजार रुपैयाँसम्मको दाबी भुक्तानीको लागी आवश्यक कागजात अनलाइनबाट अपलोड गरेको २ घण्टामै बताए । 

उनले भने,–‘सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको एसपीआईएल–डिजीको प्रयोगले बीमितहरुले सहज रूपमा अनलाइनबाटै बीमा लेख खरिद गर्न सक्नेछन् भने निश्चित रकमसम्मको बीमा दाबी फर्छ्यौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्नेछन् ।’

उनले झन्झटरहित तरिकाले रिक्वायर डकुमेन्ट अपलोड गरेको दुई घण्टामै भुक्तानी पाउने बताए । उनले भने,–‘रिक्वायर डकुमेन्ट अपलोड गरेको दुई घण्टामै क्लेम सेटल हुन्छ। यदि तपाईँले ३ बजेसम्म रिक्वायर डकुमेन्ट अपलोड गर्नु भयो भने त्यसको दुई घण्टा भित्र अर्थात् ५ बजे भित्र नै रकम तपाईँको बैंक  खातामा आउँछ ।’

यद्यपि, क्लेम सेटलमेन्टलाई रियल टाइममा ल्याउन प्रयास गरिरहेको सीइओ क्षेत्रीको भनाई छ। ‘हामीले क्लेम सेटलमेन्टलाई रियल टाइम बनाउन कोसिस गरेका छौँ । तर, हाललाई भने ५० हजार रुपैयाँसम्म दुई घण्टामै दिनेछौँ’–सीइओ क्षेत्रले भने । तत्काल मोटरसाइकल र निजी कारमामा सो बराबरको क्लेम सेटलमेन्ट गर्ने उनको भनाई छ। 

 यसबाट समय र लागत घट्न जाने र झन्झट रहित तरिकाबाट बीमा सेवा लिन एवम् प्रदान गर्न सहयोग पुग्ने उनले बताए । बीमा सेवालाई क्रमिक रूपमा प्रविधियुक्त बनाउने लक्ष्य रहेको बताए । यो पहिलो प्रयास भएको र यसलाई अझ प्रभावकारी बनाउनेतर्फ थप क्रियाशील रहेको उनको भनाइ छ । एसपीआईएल–डिजी डिजिटल प्रणाली भएको हुँदा अनलाइन भुक्तानी मार्फत कम्पनीमा बीमा शुल्क भुक्तानी गरी भौतिक रूपमा उपस्थिति बिना बीमालेख खरिद गर्न सकिनेछ । 

बीमितले निश्चित रकम सम्मको बीमा दाबी फर्छ्यौट गरी भुक्तानी लिन र बीमा दाबीको अवस्थाको बारेमा जानकारी समेत लिन सक्नेछन् । कम्पनीका अनुसार हालसम्म अनलाइन मार्फत ६० लाख २० हजार ६९९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ। कम्पनीले २२० वटा दाबी भुक्तानी अनलाइन मार्फत नै गरेको हो । कम्पनीका अनुसार ३४ लाख ३४ हजार ५२३ रुपैयाँ ९२ वटा दाबी दर्ता भएको छ । १२८ वटा दाबी दर्ताको २५ लाख ८६ हजार १७६ रुपैयाँ बराबरको क्लेम सेटल गरेको कम्पनीले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस्