जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानी ५६ अर्ब: नेपाल लाइफ, एलआईसी र नेशनल अगाडि, कसले कति दिए ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानी ५६ अर्ब: नेपाल लाइफ, एलआईसी र नेशनल अगाडि, कसले कति दिए ?



काठमाडौं । जीवन बीमा कम्पनीहरूले गत वर्ष झन्डै ५६ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन् । कम्पनीहरूले प्रकाशन गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । 

सञ्चालनमा रहेको १४ वटा बीमा कम्पनीहरूले गत वर्ष बीमितलाई ५५ अर्ब ९३ करोड १ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन् । जुन अघिल्लो आवको मसार मसान्तसम्मको तुलनामा ८.४९ प्रतिशतले बढी हो । अघिल्लो आवको समीक्षा अवधिमा कम्पनीहरूले कुल ५१ अर्ब ५५ करोड १८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । 

गत वर्ष अधिकांश कम्पनीको दाबी भुक्तानी वृद्धि भएता पनि ६ वटाको भने घटेको देखिन्छ ।  गत वर्ष सबैभन्दा धेरै दाबी भुक्तानी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देखिएको छ । समीक्षा वर्षमा कम्पनीले १५ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको दाबी भुक्तानी अघिल्लो आवको तुलनामा भने ८.९५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवको असार मसान्तसम्ममा कम्पनीले कुल १४ अर्ब १६ करोड ७० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको थियो । 

दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले ८ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको जुन अघिल्लो आवको तुलनामा भने १.०७ प्रतिशतले कमी हो । 

तेस्रो स्थानमा रहेको नेशनल लाइफको दाबी भुक्तानी २९.३२ प्रतिशतले बढेर ७ अर्ब ८१ करोड ५१ लाख रुपैयाँ कायम भएको छ । यता, चौथो स्थानमा रहेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले भने ५ अर्ब ४५ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यद्यपि, कम्पनीको यो दाबी भुक्तानी अघिल्लो आवको तुलनामा भने ४.७८ प्रतिशतले कमी हो । 

तर, दाबी भुक्तानी वृद्धिमा भने सन नेपाल लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको दाबी भुक्तानी ११९.३३ प्रतिशतले वृद्धि भई ९१ करोड ६७ लाख रुपैयाँ कायम भएको छ । दाबी भुक्तानी वृद्धिदरको आधारमा दोस्रो र तेस्रो स्थानमा रहेको एशियन र रिलायवल लाइफ गत वर्ष क्रमशः २ अर्ब ८५ करोड ३७ लाख र १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा सबैभन्दा धेरै दाबी भुक्तानी मेट लाइफको घटेको छ । कम्पनीका यस्तो भुक्तानी २९.८८ प्रतिशतले घटेर २ अर्ब ७८ करोड ५९ लाख रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा सानिमा रिलायन्सको दाबी भुक्तानी २५.४४ प्रतिशत, सूर्य ज्योति लाइफको ६.६९ प्रतिशतले घटेको छ ।

कुन कम्पनीले कति दिए बीमितलाई दाबी भुक्तानी ?


प्रतिक्रिया दिनुहोस्