पहिलो दिन मै माण्डु हाइड्रोपावरको आइपीओमा दुई गुणा बढीको आवेदन
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आइपीओमा पहिलो दिन मै २ लाख १५ हजार ८४० जनाले आवेदन दिएका छन् । सीडिएसका अनुसार आज अर्थात भदौ १० गते साझ ५ः०६ बजेसम्म २४ लाख ८ हजार ९९० कित्ताका लागि आवेदन परेको हो । सो आवेदन मार्फत ४९ करोड ६२ लाख ५१ हजार ९४०रुपैयाँ संकलन भएको छ । जुन माग भन्दा १.९९ गुणा बढी आवेदन हो ।
कम्पनीले आजदेखि सर्वसाधारणमा आइपीओ निष्कासन गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आइपीओ बिक्री गरी बाँडफाँट समेत गरी सकेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा विक्री हुन नसकेको ७९ हजार ३० कित्ता आईपीओ समेत जोडेर कम्पनीले सर्वसाधारणमा विक्री गरेकोहो ।
कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ विक्री नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आयोजना प्रभावित स्थानीयमा १ लाख ९३ हजार ७०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ बाँडफाँट गरिसकिएको हो ।बाँकी रहेको मध्ये २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ७२ हजार १३३ कित्ता सामूहिका लगानीकोषहरूमा समेत बाँडफाँट गरी १२ लाख ५ हजार ३२० कित्ता आईपीओ भने सर्वधारणका लागि जारी गरेको हो ।आइपीओमा लगानीकर्ताले भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा भदौ २४ गतेसम्म विक्री लम्बिनेछ ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत समेत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
















