प्राधिकरणले टुङ्ग्यायो बीमा सम्बन्धी १५० मुद्दा, किनारा लगाउन अब कति बाँकी ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले एक वर्षमा डेढ सय वटा मुद्दालाई किनारा लगाएको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा बीमा सम्बन्धी उजुरीका १५० मुद्दालाई किनारा लगाएको हो ।
अघिल्ला वर्षहरूको १८६ बाँकी र १५५ वटा उजुरी गरेर गत आवमा ३४१ वटा उजुरी विचराधिन थिए, त्यसमा प्राधिकरणले ९४ वटा मुद्दामा अन्तिम फैसला गरेको छ । ५६ वटा मुद्दामा भने सम्बन्धित पक्षहरूबिच सहमति गराइएको छ ।
नेपाल बीमा प्राधिकरणबाट प्राप्त गत आवको उजुरी सम्बन्धी तथ्याङ्कले यस्तो देखाएको हो । योसँगै अब प्राधिकरणमा कुल १९१ मुद्दा विचराधिन छन्, त्यसलाई पनि सके जति छिटो टुङ्गोमा पुर्याउने प्राधिकरणको योजना छ । अघिल्लो आव २०७८/७९ मा प्राधिकरणले ३३८ मुद्दामा १५२ वटालाई किनारा लगाएको थियो ।
तथ्यांकअनुसार पछिल्लो दुई वर्ष प्राधिकरणले फैसला अर्थात् टुङ्गोमा पुर्याउने मुद्दाको सङ्ख्या उच्च देखिन्छ । २०७७/७८ अघि वार्षिक रूपमा १०० भन्दा पनि कम मुद्दा टुङ्गो लाग्ने गरेको थियो । तर, पछिल्लो दुई वर्ष यता त्यो सङ्ख्या उच्च देखिन्छ । पहिला प्राधिकरणमा यस्ता उजुरीमा समयमा सुनुवाइ नहुने समस्या थियो । तर, अहिले त्यस्तो समस्या हट्दै गएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले आव २०७५/७६ मा ८५ वटा, आव २०७६/७७ मा ९१ वटा र आव २०७७/७८ मा ९३ वटा मुद्दालाई टुङ्गोमा पुर्याएको थियो । तर, दुई वर्ष यता १५० वटा भन्दा बढी मुद्दालाई टुङ्गोमा पुर्याइएको छ ।
प्राधिकरणलाई बीमासम्बन्धी मुद्दामा फैसला गर्न जिल्ला अदालत सरहको अधिकार छ । बीमा कम्पनीले दिने सेवामा चित्त नबुझेमा ग्राहकहरूले सीधै प्राधिकरणमा उजुरी गर्न सक्छन् । जिल्ला अदालतमा जानु पर्दैन । ग्राहकले प्राधिकरणको फैसला चित्त नबुझेमा मात्र पुनरावलोकनका लागि क्रमशः उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म जान सक्ने व्यवस्था रहेको छ ।
तथ्यांकअनुसार पछिल्लो समय बीमा सेवामा चित्त नबुझाएर कम्पनी विरुद्ध उजुरी गर्ने ग्राहकको सङ्ख्या पनि बढ्दै गएको छ । आव २०७५/७६ मा प्राधिकरणमा १०० वटा मुद्दा परेको थियो । त्यसपछि आव २०७६/७७ मा १२६ वटा, आव २०७७/७८ मा १३७ वटा, आव २०७८/७९ मा १५५ वटा र गत आव २०७९/८० मा पनि १५५ वटै मुद्दा परेको देखिन्छ । यसरी पछिल्लो समय बीमा सेवा चित्त नबुझाएर कम्पनी विरुद्ध उजुरी गर्ने ग्राहकको सङ्ख्या पनि बढेको तथ्याङ्कले पुष्टि गरेको छ ।













