कर्मचारी बोनसमा हिमालयन एभरेस्ट, सानिमा जिआर्ईसी, शिखर र आइजीआई अगाडि, कसको कति बढ्यो बोनस ?
काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरूले आफ्ना कर्मचारीलाई प्रदान गर्ने बोनस रकम उच्च दरमा वृद्धि भएको छ । सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीले कर्मचारीलाई दिने बोनस बापतको रकम झन्डै ४४ प्रतिशतले बढाएका छन् ।
कम्पनीहरूले गत वर्षको मुनाफाबाट कर्मचारीहरूको बोनसका लागि ७७ करोड ५८ लाख ८८ हजार रुपैयाँ दिने भएका हुन् । जुन, अघिल्लो वर्षको तुलनामा ४३.७० प्रतिशतले बढी हो । कम्पनीहरूले प्रकाशन गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले ५३ करोड ९९ लाख २४ हजार रुपैयाँ बोनस छुटाएका थिए ।
वित्तीय रिपोर्ट अनुसार एक कम्पनी बाहेक सबैको बोनस दोहोरो अङ्कले नै बढेको छ । कर्मचारीलाई दिने बोनस वृद्धिमा हिमालयन एभरेष्ट इन्स्योरेन्स पहिलो नम्बर छ । कम्पनीले कर्मचारीको बोनसका लागि छुट्टाउने रकम २.८७ गुणाले बढाएको छ । गत वर्षको मुनाफाबाट कम्पनीले कर्मचारीलाई ६ करोड ३६ लाख ७७ हजार रुपैयाँ बोनस दिने भएको हो । जुन अघिल्लो आवको तुलनामा १८७.५४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भने कम्पनीका कर्मचारी २ करोड २१ लाख ४५ हजार रुपैयाँ बोनस पाएका थिए ।
सानिमा जिआईसी इन्स्योरेन्सका कर्मचारीहरूले पाउने बोनस पनि झन्डै दोब्बरले वृद्धि भएको छ । वित्तीय रिपोर्टअनुसार कम्पनीले कर्मचारीलाई प्रदान गर्ने बोनस ९३.०७ प्रतिशतले वृद्धि गरी ४ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष भने कम्पनी कर्मचारी बोनसका लागि जम्मा २ करोड ७ लाख रुपैयाँ मात्रै छुट्टाएको थियो ।
बोनस वृद्धिमा कम देखिएता पनि रकमका आधारमा भने नेको इन्स्योरेन्स पहिलो सूचीमा छ । कम्पनीले आफ्ना कर्मचारीलाई ९ करोड २७ लाख ७५ हजार रुपैयाँ बोनस दिने भएको छ । तर, अघिल्लो वर्षको तुलनामा भने यो ६.५८ प्रतिशतले मात्रै बढी हो । अघिल्लो वर्ष कम्पनीका कर्मचारीहरूले ८ करोड ५३ लाख ५४ हजार रुपैयाँ बोनस पाएका थिए ।
रकमका आधारमा राष्ट्रिय बीमा कम्पनी दोस्रो स्थानमा देखिएको छ । कम्पनीले कर्मचारी बोनसका लागि ७ करोड ८७ लाख ८९ हजार रुपैयाँ छुट्टाएको छ । जुन अघिल्लो आवको तुलनामा पनि ६० प्रतिशतले बढी हो ।
यस्तै, कर्मचारीलाई धेरै बोनस बाँड्नेमा सगरमाथा लुम्बिनी पनि शीर्ष सूचीमा छ । कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना कर्मचारीलाई ७ करोड २७ लाख ७५ हजार रुपैयाँ बोनसका लागि छुट्टाएको छ । जुन अघिल्लो वर्षको तुलनामा भने २२.०४ प्रतिशतले वृद्धि भएको हो ।
यता, अघिल्लो वर्ष कर्मचारी निराश बनाएको नेशनल लाइफले पनि गत वर्षको नाफाबाट २ करोड ८६ लाख ६० हजार रुपैयाँ बोनस दिने भएको छ ।
यस्तै, शिखर इन्स्योरेन्सको कर्मचारी बोनस पनि ५३.३३ प्रतिशतले वृद्धि भई ६ करोड २५ लाख ६७ हजार रुपैयाँ पुगेको छ । यता, आइजीआई प्रुडेन्सियलले पनि आफ्ना कर्मचारीलाई दिने बोनस रकम ५१.३६ प्रतिशतले वृद्धि गरी ४ करोड ज्ञ४ लाख ३७ हजार पुर्याएको छ ।
त्यसैगरि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कर्मचारीहरूले पनि ५ करोड ८२ लाख २० हजार रुपैयाँ बोनस पाउने भएका छन् । कम्पनीले कर्मचारीलाई प्रदान गरिने बोनस रकम अघिल्लो आवको तुलनामा १३.६२ प्रतिशतले बढाएको छ ।
गत वर्षको मुनाफाबाट प्रभु इन्स्योरेन्सका कर्मचारीले ३ करोड ४५ लाख रुपैयाँ, युनाईटेड अजोडकाले ३ करोड ६ लाख ४३ हजार, ओरियण्टलकाले ६ करोड ३५ लाख १९ हजार, एनएलजीकाले ४ करोड २७ लाख ५८ हजार र नेपाल इन्स्योरेन्स कम्पनीका कर्मचारीले ६ करोड ६३ लाख ३७ हजार रुपैयाँ बोनस पाउने भएका छन् । यी कम्पनीहरूले अघिल्लो वर्षको तुलनामा कर्मचारीले पाउने बोनस रकम क्रमशः ३७.४७ प्रतिशत, २८.०६ प्रतिशत, ४१.९९ प्रतिशत र १७.१० प्रतिशतले वृद्धि गरेका हुन् ।
कुन कम्पनीको कति बढाए कर्मचारी बोनस ?

















