माण्डु हाइड्रोपावरको आइपीओमा साढे ८ लाखको हात रित्तो हुने, कतिले पाउछन् सेयर ?
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आइपीओमा साढे ८ लाख भन्दा बढीको हात रित्तो हुने भएको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ९ लाख ८१ हजार ६३१ जनाले १ करोड ७ लाख ११ हजार २७० कित्ताका लागि आवेदन दिएका छन् । जसबाट २ अर्ब २० करोड ६५ लाख २१ हजार ६२० रुपैयाँ संकलन भएको छ ।
माग भन्दा ८.८८ गुणा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा १ लाख २० हजार ५३२ जनाले १०।१० कित्ताका दरले आइपीओ पाउने भएका छन् । आइपीओमा ८ लाख ६१ हजारको हात रित्तो हुने भएको हो ।
कम्पनीले भदौ १० गतेदेखि सर्वसाधारणमा आइपीओ निष्कासन गरेको थियो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आइपीओ बिक्री गरी बाँडफाँट समेत गरी सकेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा विक्री हुन नसकेको ७९ हजार ३० कित्ता आईपीओ समेत जोडेर कम्पनीले सर्वसाधारणमा विक्री गरेको थियो ।
कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ विक्री नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आयोजना प्रभावित स्थानीयमा १ लाख ९३ हजार ७०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ बाँडफाँट गरिसकिएको हो । बाँकी रहेको मध्ये २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ७२ हजार १३३ कित्ता सामूहिका लगानीकोषहरूमा समेत बाँडफाँट गरी १२ लाख ५ हजार ३२० कित्ता आईपीओ भने सर्वधारणका लागि जारी गरेको थियो ।
















