नेपाली अदुवाको अन्तर्राष्ट्रिय व्यापार ३ गुणाले बढ्यो, एक महिनामै २४ करोड २६ लाख बराबरको बिक्री
काठमाडौं । नेपाली अदुवाको निर्यात उच्च वृद्धि भएको छ । अदुवा उत्पादनको चौथो नम्बरमा नेपाल पर्छ, पछिल्लो समय यसको निर्यात ह्वात्तै वृद्धि भएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा २४ करोड २६ लाख रुपैयाँ बराबरको नेपाली अदुवा विदेश निर्यात भएको छ। जुन अघिल्लो आवको सोही महिनाको तुलनामा ३.१९ गुणाले बढी हो । नेपालबाट सर्वाधिक विदेश निर्यात हुनेमध्येको एक कृषिजन्य उत्पादनमा अदुवा पर्छ । अघिल्लो वर्षको साउनमा भने नेपालले ७ करोड ५९ लाख रुपैयाँ बराबरको मात्रै अदुवा निर्यात भएको थियो ।
भन्सार विभागका अनुसार चालु आवको एक महिनामै १ हजार ९४२ टन अदुवा निर्यात भएको हो । नेपालमा उत्पादित अदुवा अन्य देशको तुलनामा गुणस्तरयुक्त हुने भएकाले पनि यसको निर्यात बढेको बताइन्छ । विभागको तथ्याङ्क अनुसार चालु आवको पहिलो महिनामा नेपालले पनि भारत, थाइल्यान्ड, इन्डोनेसिया लगायतका देशहरूबाट ४ करोड २५ लाख रुपैयाँ बराबरको अदुवा आयात गरेको छ । आयातको तुलनामा निर्यात धेरै नै छ ।
नेपालमा उत्पादित अदुवा भारत, बङ्गलादेश, नेदरल्याण्ड, जापान, जर्मनी, युएई, कतार लगायतका मुलुकमा पुग्ने गरेको छ । नेपाली अदुवाको सबैभन्दा ठुलो बजारमा भनेको छिमेकी मुलुक भारत हो । मसला उत्पादनमा भारतमा विश्वकै ठुलो बजार भएकाले नै नेपालबाट आयात गर्ने गरेको छ । भारतीय व्यवसायीले नेपाली अदुवा खरिद गरेर पाउडर, मसला बनाएर तेस्रो मुलुकमा निर्यात गर्छन् । चालु आवको पहिलो महिनामा भारत मात्रै नेपाली अदुवा निर्यात भएको छ ।
नेपालबाट झन्डै एक दर्जन बढी जिल्लाहरूमा अदुवा खेती हुने गरेको छ । हाल नेपालको सिन्धुली, धनुषा, पाल्पा, धादिङ, प्युठान, ताप्लेजुङ, महोत्तरी, रौतहट, बारा, पर्सा, चितवन लगायतमा यसको खेती हुने गरेको छ । ती जिल्ला हरुवा अदुवाको व्यावसायिक खेती हुने गरेको हो ।
गत वर्षभर भने १ अर्ब २२ करोड २२ लाख ३३ हजार रुपैयाँ बराबरको २३ हजार १३ टन अदुवा निर्यात भएको थियो । भन्सार विभागको तथ्याङ्क अनुसार औसतमा वार्षिक ५५ करोड ७१ लाख रुपैयाँ बराबरको अदुवा निर्यात भएको देखिन्छ । पछिल्ला १० वर्षको तथ्याङ्कले यस्तो देखाएको हो ।
आर्थिक वर्ष २०७१/७२ देखि अघिल्लो आवसम्म आइपुग्दा कुल ५ अर्ब ५७ करोड १४ लाख रुपैयाँ बराबरको अदुवा नेपालबाट निकासी भएको देखिन्छ ।
कुन वर्ष कति निर्यात ?














