जग्गा प्लटिङ जाने कर्जामा उच्च वृद्धि, कति छ 'रियल स्टेट' क्षेत्रमा कर्जा ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जग्गा प्लटिङ जाने कर्जामा उच्च वृद्धि, कति छ ‘रियल स्टेट’ क्षेत्रमा कर्जा ?



काठमाडौं । रियल स्टेट क्षेत्रमा जाने कर्जा सुस्ताएको छ । गत आर्थिक बर्ष २०७९/८० मा रियल स्टेट क्षेत्रमा जाने कर्जा प्रवाह सुस्ताएको हो ।

गत आवमा बैकिङ क्षेत्रकै कर्जा प्रवाह सुस्ताएको छ । त्यसमा घर जग्गामा जाने कर्जा पनि सुस्ताएको हो । नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकले १ करोड ५० लाख सिमा सम्मको व्यक्तिगत घर कर्जा र अन्य प्रकृतिको रियल स्टेट कर्जाको प्रवाह सुस्ताएको हो । गत आवमा रियल स्टेट क्षेत्रमा जाने कर्जा औसत ५.५६ प्रतिशतले मात्रै बढेको छ ।

२०७९ असार मसान्तसम्म यस क्षेत्रमा कुल ५ खर्ब ६६ अर्ब ५ करोड ३८ लाख कर्जा प्रवाह भएको थियो । गत आवमा त्यो ३१ अर्ब ५० करोड ९६ लाख रुपैयाँले बढेर ५ खर्ब ९७ अर्ब ५६ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

जवकी आव २०७८/७९ मा यस्तो कर्जा प्रवाह १७.४६ प्रतिशतले बढेको थियो । २०७८ को अन्त्यसम्म यस क्षेत्रमा कुल ४ खर्ब ८१ अर्ब ८७ करोड ७५ लाख रुपैयाँ प्रवाह भएको थियो । त्यसपछिको आव २०७८/७९ मा यो ८४ अर्ब १७ करोड ६३ लाख रुपैयाँले बढेको थियो । तर, गत आवमा भने त्यसमा संकुचन देखिएको तथ्यांकले पुष्टी गरेको छ ।

तथ्यांकअनुसार यस अन्तरगतको १ करोड ५० लाख रुपैयाँसम्म सिमाको व्यक्तिगत घर कर्जा ३.१ प्रतिशतले मात्रै बढेको छ । २०७९ असार मसान्तसम्म यस्तो कर्जा ३ खर्ब ३७ अर्ब ७९ करोड ९० लाख रुपैयाँ थियो । गत आवमा त्यो १० अर्ब ३२ करोड २३ लाख रुपैयाँले बढेर ३ खर्ब ४८ अर्ब १२ करोड १३ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आव २०७८/७९ मा यस्तो कर्जा ३९ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ अर्थात् १३.३ प्रतिशतले बढेको थियो । २०७८ असारसम्म २ खर्ब ९८ अर्ब २६ करोड ६ लाख रुपैयाँ यस्तो कर्जा प्रवाह भएको थियो ।

तथ्यांकअनुसार यस अन्तरगत अन्य प्रकृतिको रियल स्टेट कर्जा भने ९ प्रतिशतले बढेको छ । २०७९ असारसम्म यस्तो रियल स्टेट कर्जा २ खर्ब २८ अर्ब २५ करोड ४८ लाख रुपैयाँ थियो । गत आवमा त्यो २१ अर्ब १८ करोड ७३ लाख रुपैयाँले बढेर २ खर्ब ४९ अर्ब ४४ करोड २१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७८/७९ मा भने यस्तो कर्जा २४.३ प्रतिशतले बढेको थियो । त्यसअघि १ खर्ब ८३ अर्ब ६१ करोड ६९ लाख रहेको यस्तो कर्जा उक्त आवमा ४४ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ थपिएको थियो ।

जग्गा प्लोटिङ जाने कर्जामा उच्च वृद्धि

समग्रमा रियल स्टेट कर्जा सुस्ताए पनि त्यस भित्रकै केही शिर्षकका कर्जा प्रवाह भने बढेको छ । बिशेषगरि अर्पाटमेन्ट निर्माण, कर्मशियल कम्पेलेक्स र जग्गा प्लोटीनङ कर्जा प्रवाह बढेको देखिन्छ ।

समिक्षा अवधीमा अपार्टमेन्ट तथा कम्पेलेक्स निर्माणमा जाने कर्जा २२.८ प्रतिशतले बढेको छ । २०७९ असारसम्म २५ अर्ब २६ करोड २५ लाख रहेको यस्तो कर्जा अहिले ५ अर्ब ७६ करोड ६५ लाख रुपैयाँले बढेर ३१ अर्ब २ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, इनकम जेनेरेट गर्ने कर्मशियल कम्पेलेक्समा जाने कर्जा ५३ प्रतिशतले बढेको छ । २०७९ असारसम्म ७ अर्ब ५३ करोड ३३ लाख रहेको यस्तो कर्जा २०८० असारसम्म ४ अर्ब ४ करोड ४२ लाखले बढेर ११ अर्ब ५७ करोड ७५ लाख पुगेको छ ।

यसैगरि जग्गा प्लोटीङमा जाने कर्जा २५.२ प्रतिशतले बढेको छ । २०७९ असारसम्म ३६ अर्ब २१ करोड ७१ लाख रुपैयाँ रहेको यस्तो कर्जा गत आवमा ९ अर्ब १२ करोड १६ लाख रुपैयाँले बढेर ४५ अर्ब ३३ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्