विश्वकै ठुलो अर्थतन्त्र भएको अमेरिकासँग नेपाल कसरी पुग्यो व्यापार नाफामा ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

विश्वकै ठुलो अर्थतन्त्र भएको अमेरिकासँग नेपाल कसरी पुग्यो व्यापार नाफामा ?



काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय व्यापारमा झन्डै एक सय मुलुकसँग घाटा व्यहोरेको छ । वैदेशिक व्यापार गर्ने अधिकांश साझेदार मुलुकसँग नेपालको व्यापार घाटामा छ । 

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र(टीईपीसी) को तथ्याङ्क अनुसार साउनमा नेपालले १ अर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । तर, १३ अर्ब ५२ करोड ८६ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । आयातको तुलनामा नेपालको निर्यात कमजोर भएपछि नै व्यापार घाटा बढेको हो । अघिल्लो आवको तुलनामा आयात १.६५ प्रतिशत र निर्यात ८.६५ प्रतिशतले गिरावट आएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा नेपालले विश्वका १०९ वटा मुलुकसँग व्यापार गरेको छ । तर, ९२ वटा देशसँगको व्यापार घाटामा छ । अर्थात् नेपालले ती मुलुकहरूबाट आयातको तुलनामा एकदमै न्यून निर्यात गरेको हो । गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा भने नेपालले १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख रुपैयाँ व्यापार घाटा व्योहोरेको छ ।

सबैभन्दा धेरै व्यापार घाटा भारत र चीनसँग छ । चालु आवको एक महिनामा भारतसँगको व्यापार घाटा ७२ अर्ब ७६ करोड ७४ लाख रुपैयाँ छ । साउनमा नेपालले ८१ अर्ब २४ करोड ९४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । तर, ८ अर्ब ४८ करोड २० लाख रुपैयाँ मात्रै निर्यात गरेको छ । 

यता, अर्को छिमेकी ठुलो आर्थिक साझेदार चीनसँगको व्यापार घाटा पनि २१ अर्ब ५५ करोड ७५ लाख रुपैयाँ भन्दा माथि नै छ । साउनमा नेपालले चीनबाट २१ अर्ब ९४ करोड ९९ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । तर, निर्यात भने एकदमै निराशाजनक छ । समीक्षा महिनामा नेपालले चीन तर्फ ३९ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात गरेको छ । 

अधिकांश वैदेशिक व्यापार साझेदारसँग अबौं व्यापार घाटामा रहेको नेपाल १७ वटा मुलुकसँग भने नाफामा देखिएको छ ।विश्वकै ठुलो अर्थतन्त्र भएको देश अमेरिकासँगको व्यापारमा नेपाल नाफामा देखिएको छ । चालु आवको साउनमा अमेरिकासँगको व्यापारमा नेपालले ६८ करोड २९ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ । अमेरिकाबाट साउनमा १ अर्ब ९ करोड ३७ लाख रुपैयाँ बराबरको वस्तु तथा आयात भएको देखिन्छ । तर, सो मुलुकमा नेपालले १ अर्ब ७७ करोड ६६ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । आयात भन्दा निर्यात बढीको भएकाले नै सो मुलुकसँगको व्यापार नाफामा देखिएको हो । 

नेपालबाट अमेरिकातर्फ सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा कार्पेट, गलैँचा, ऊनी र छुर्पी पर्छन् । यीनै वस्तुको निर्यात बढ्दा नेपाललाई अमेरिकासँगको व्यापारमा नाफा देखिएको हो । यसबाहेक नेपालबाट पास्ता, सुगन्धित तेल (अत्तर) हस्तकलाका सामग्री, हाते कागज, पस्मिना, कटनका कपडा, पस्मिनाबाट निर्मित सल र मफलर, सुनचाँदीका गरगहना, वाद्यवादनका सामग्री र ड्रइङ (पेन्टिङ) निर्यात हुन्छ । नेपालमा निर्मित पस्मिना, कार्पेट, गलैँचा र गरगहनाको ठुलो बजार अमेरिकामा देखिन्छ । 

समीक्षा अवधिमा अमेरिकाबाट भने  विभिन्न तरकारीका बिउहरू, भटमास, कफी, चकलेट, लगायतका दर्जनौँ वस्तुहरू आयात गरेको छ । भन्सार विभागका अनुसार नेपालले एभोकार्डो, सखरखण्ड, चुइङ्गम, फुड सप्लिमेन्ट, ह्विस्कीको कच्चा पदार्थ फर्नेस आयल, बेस आयल, लुब्रिकेन्ट आयल, खाद्य तथा मेसिनरी कच्चा पदार्थ, भ्याक्सिन, कस्मेटिक सामग्रीहरू, स्याम्पु, साबुन, मेडिकल इक्युपमेन्ट लगायतका अन्य वस्तु तथा सेवा आयात भएका छन् ।

गत आर्थिक वर्ष २०७९/८० मा पनि अमेरिकासँग नेपालको व्यापार १४ करोड ६५ लाख रुपैयाँ नाफामा रहेको थियो । गत आवभार नेपालले अमेरिकाबाट १९ अर्ब ४२ करोड ४८ लाख रुपैयाँ वस्तु तथा सेवा आयात गरेको थियो । सो अवधिमा १९ अर्ब ५७ करोड १४ लाख रुपैयाँ बराबरको निर्यात गर्न सफल भएको थियो । 


प्रतिक्रिया दिनुहोस्