अष्ट्रेलियाको नेसनल लिडरशीप फोरममा नेपालका डा. दिनेश कोइराला ‘की नोट स्पिकर’
काठमाडौं । वरिष्ठ बाल शल्य चिकित्सक डा. दिनेश कोइराला अष्ट्रेलियाको सुप्रसिद्ध नेसनल लिडरशीप फोरमको एक सम्मेलनमा सहभागी हुने भएका छन् । १४ देखि १७ सेप्टेम्बरमा अष्ट्रेलियामा आयोजना हुन लागेको उक्त सम्मेलनमा डा. कोइराला नेपालको तर्फबाट त्यहाँको पार्लियामेन्टमा सञ्चालन हुने सो फोरममा की नोट स्पिकर को रूपमा चुनिएका छन् ।
युवा नेतृत्व तथा विभिन्न क्षेत्रमा दख्खल राख्ने व्यक्तित्वहरूका लागि अष्ट्रेलियामा आयोजना हुने ठूला सम्मेलनहरूमध्ये यो सम्मेलन एक हो । विभिन्न क्षेत्रमा सक्रिय तथा नेतृत्वदायी भूमिका खेलेका व्यक्तित्वहरू लक्षित यो सम्मेलन लक्षित गरिन्छ । यस सम्मेलनमा अष्ट्रेलियाका पार्लामेन्टका सिनेटर, पार्लियामेन्ट फिडरल एमपी, ठूला व्यवसायीहरू तथा अन्य युवा नेताहरूसँग विभिन्न क्षेत्रमा छलफल गर्ने तथा अनुभव साटफेर समेत गरिनेछ ।
उक्त फोरमको कार्यकारी टिममा रहेका नेपाली व्यवसायी सागर लोहनीले यो वर्ष की नोट स्पिकिङमा डा. कोइरालाको नाम सिफारिस गरेका थिए । जसलाई सो फोरमको कार्यकारी समूहले कोइरालाले समाजलाई पुर्याएको योगदानको आधारमा उनलाई चुनेको हो ।
यस सम्मेलनमा सहभागी हुने नेपालबाट डा. कोइराला एक मात्रै व्यक्ति हुन् । चिकित्सकहरूमध्ये नेपालबाट अष्ट्रेलियाको संसदलाई सम्बोधन गर्ने उनी पहिलो व्यक्ति हुनेछन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत डा. कोइरालाको स्थाई घर पोखरा हो ।
बंगलादेशमा डा. कोइरालाले पिडिएट्रिक सर्जरीको ५ वर्षे कोर्ष अध्ययन गरेका छन् । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट एमबिबिएस गरेका उनले बंगलादेशबाटै अमेरिकन युनिभर्सिटी अफ ढाकाबाट एमपिएच अध्ययन गरेका छन् ।
















