उद्यमशीलता प्रवर्द्धनका लागि कोसी प्रदेशमा थप २० करोड लगानी प्रतिवद्धता, प्राथमिकतामा कृषि क्षेत्र
काठमाडौं । कोसी प्रदेशमा उद्यमशीलता प्रवद्धर्न गर्नका लागि थप २० करोड रुपैयाँ लगानी प्रतिवद्धता भएको छ ।
बिहीबार विराटनगरमा सम्पन्न आध्यन्त एक्सिलिरेटर कार्यक्रम अन्तर्गतको लगानी सम्मेलनमा सो बराबरको लगानी उद्यमशीलता प्रवर्द्धनका लागि प्रतिवद्धता भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको कोसी प्रदेशको सहकार्यमा आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेड, प्रदेश लगानी प्राधिकरण, नेपाल कृषि बजार विकास कार्यक्रम, स्विस कन्ट्याक्टलगायतको सहभागितामा लगानी सम्मेलन भएको हो । सोही सम्मलेन मार्फत प्रदेशका विभिन्न आठ वटा क्षेत्रका नव उद्यमीहरुको उद्यमशीलता विकास र प्रवद्र्धन गर्नका लागि २० करोड रुपैयाँ बराबरको थप लगानी प्रतिवद्धता भएको छ । विशेषगरि सो सम्मेलनमा चिया, अलैँची अचार लगायतका कृषि क्षेत्रसंग सम्वन्धित स्थापना भएका उद्यमीहरुलाई थप लगानी प्रतिवद्धता भएको बताइएको छ ।
आध्यन्त एक्सेलरेटर कार्यक्रम अन्तरगत १० जना उद्यमीहरूले आफ्नो व्यवसाय निर्माण र विस्तारका विभिन्न क्षेत्रमा तालिम प्राप्त गरेका छन् । उनीहरूमध्ये आठ जनाले उद्यमीहरूले आफ्नो उद्यमबारे जानकारी गराएका थिए ।
उक्त सम्मेलनमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि तथा पर्यटन क्षेत्रलाई अघि बढाउन आवश्यक रहेको बताए । पछिल्लो समय मुलुकको अस्थिर राजनैतिक व्यवस्थाले आर्थिक क्षेत्र चलायमान हुन नसकेको उनको भनाई थियो । उनले कोसी प्रदेशमा कृषि विभिन्न क्षेत्रहरुमा लगानी बढाउँदै जान आवश्यक रहेको बताए ।
सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नयाँ र राम्रो योजना बनाएर काम गर्ने युवा तथा उद्यमीहरुलाई महासंले प्रोत्साहन गर्ने बताए ।
यता, आध्यन्त फन्डका अध्यक्ष यज्ञप्रसाद न्यापानेले स्वदेशमै उद्यमशीलताको विकासले विदेशी मुद्राको समग्र सञ्चय हुने बताए ।
सोही अवसरमा सहज परियोजनाकी टिम लिडर रीमा श्रेष्ठ, आद्यन्त फन्डका संस्थापक एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य मनोज पौडेल, प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइराला लगायतका बोलेको थिए ।













