वैदेशिक रोजगार बीमाबाटै कम्पनीले उठाए ४५ करोड प्रिमियम, १७ लाख बढी बीमालेख सक्रिय
काडमाडौं । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमा मार्फत दुई महिनामा झण्डै ४५ करोड रुपैयाँ बीमा शुल्क उठाएका छन् ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को साउन–भदौको तथ्याङ्कले यस्तो देखाएको हो ।समीक्षा अवधिमा वैदेशिक रोजगार व्यवसाय गर्ने कम्पनीले ४४ करोड ८२ लाख १२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको कुल १७ लाख ४ हजार ७३ वटा बीमालेख सक्रिय देखिएको छ ।
बैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्दछ । सोही अनुसार नै गरिएको बीमामा सो संख्यामा पोलेसी सक्रिय देखिएको हो । पछिल्लो समय बैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ ।
हाल नेशनल लाइफ, नेपाल लाइफ, एशियन लाइफ, आइएमई, सुर्याज्योति लाइफ, सन नेपाल लाइफ, रिलायवल लाइफ, सिटीजन लाइफ, सानिमा रिलायन्स लाइफ र प्रभु लाइफले वैदेशिक रोजगार बीमा गरिरहेका छन् ।
कम्पनीहरुले भदौमा मात्रै ४८ हजार ४३४ वटा बीमालेख बिक्री गरि २० करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । समिक्षा अवधिमा वैदेशिक रोजगार बीमाको दायित्व (बीमाङ्क रकम) ४८ अर्ब ४३ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा सबैभन्दा धेरै सन नेपाल लाइफले वैदेशिक रोजगारी बीमालेख बिक्री गरेको छ । कम्पनी यस्तो बीमा मार्फत १० करोड ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले भदौमा मात्रै ४ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । हाल कम्पनीको सक्रिय वैदेशिक बीमालेखको संख्या ७ लाख २४ हजार ८४४ वटा रहेको छ ।
दोस्रो स्थानमा रहेको नेपाल लाइफले वैदेशिक रोजगार बीमाबाट भदौसम्म ९ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले भदौमा मात्रै ४ करोड ५ लाख रुपैयाँ बीमा शुल्क वैदेशिक रोजगार बीमाबाट उठाएको छ । कम्पनीमा सक्रिय वैदेशिक बीमालेखको संख्या २ लाख ५८ लाख ७६५ वटा रहेको छ ।
तेस्रो स्थानमा रहेको आइएमई लाइफले ६ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले भदौमा मात्रै ६ हजार ७९९ बीमालेख बिक्री गरि २ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हाल कम्पनीमा सक्रिय वैदेशिक रोजगार बीमालेखको संख्या १ लाख २४ हजार ८४४ वटा रहेको छ ।
यस्तै, सूर्यज्योति लाइफले वैदेशिक रोजगार बीमा मार्फत ३ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । भदौमा मात्र कम्पनीले ३ हजार ७५० बीमालेख बिक्री गरि १ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीमा यस्तो बीमा अन्तर्गत २ लाख ७६ हजार ८४२ बीमालेख सक्रिय देखिएको छ।
भदौ मसान्तसम्ममा नेशनल लाइफले वैदेशिक रोजगार बीमा मार्फत ३ करोड ५२ लाख, रिलायवल नेपालले ३ करोड ४२ लाख, सानिमा रिलान्यसले २ करोड ९१ लाख, एशियन लाइफले २ करोड ७० लाख, सिटिजनले २ करोड २४ लाख र प्रभु महालक्ष्मी ७ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको छ ।













