१८ श्रावण २०८३, सोमबार

घर जग्गाले अर्थतन्त्र डुब्यो भन्नु भ्रम, सेयर लगानीकर्ताको मनोबल बढाउन आवश्यक छ: अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सेयर बजारमा जोडिएका लगानीकर्ताहरुको मनोबल बढाउन आवश्यक रहेको बताए ।

पछिल्लो समय सेयर बजारमा नकरात्मक भ्रम फैलिएकाले सर्वसाधारण लगानीकर्ताहरुको मनोबल बढाउनुपर्ने उनले बताए ।
विश्व लगानीकर्ता सप्ताह मनाउन नेपाल धितोपत्र बोर्ड र महासंघबीच भएको लगानीकर्ता शिक्षा र सचेत निर्माण कार्यक्रमको हस्ताक्षर समारोहमा अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले भने,– ‘सेयर बजारमा नकरात्मक भ्रम फैलिएको छ । बजारमा जोडिएका एक तिहाईको मनोबल उच्च बनाउन पर्छ ।’

उनले सेयर बजार बारे नेपाल राष्ट्र बैंक र नियामक निकाय सेबोनले सकरात्मक सन्देश दिने गरि काम गर्न आवश्यक रहेको औल्याए । सोही अवसरमा घर जग्गाका कारण अर्थतन्त्र डुब्यो भन्नु भ्रम रहेको अध्यक्ष ढकालले स्पष्ट पारे । विग्रिएको अर्थतन्त्रलाई सबैको सहकार्यमा निराकरण गर्न पर्नेभन्दै कुनै व्यक्ति वा संस्थान दोष दिन नहुने उनको भनाई छ । उनले भने,–‘घर जग्गाका कारण अर्थतन्त्र डुब्यो भन्नु भ्रम हो ।अर्थतन्त्र बिग्रिएको दोष कुनै व्यक्ति तथा संस्थालाइ दिनु हुँदैन । बिग्रिनुमा सरकार, व्यवसायी, नियामक निकायले भुमिका बराबर छ ।’

सकारात्मक सन्देश दिन नसके व्यवसायी अगाडि बढ्न नसकिने उनले बताए । तर, सबैले सहकार्य गरेरे सर्वसाधारणको मनोबल उच्च बनाउनुपर्ने उनको तर्क छ । सोही अवसरमा बागलुङ ढोरपाटनबाट ७७ जिल्लाका व्यबसायिहरुको सहकार्यमा एक पब्लिक कम्पनी दर्ता गर्न निर्णय अध्यक्ष ढकालले जानकारी दिए । उक्त सहकार्य र निर्णयले छरिएर रहेको पुँजी एकै ठाउँमा आउने उनको भनाई छ ।