११ श्रावण २०८३, सोमबार

लाभांश पारित गर्दै माछापुच्छ्रे बैंकको साधारण सभा सम्पन्न

लाभांश पारित गर्दै माछापुच्छ्रे बैंकको साधारण सभा सम्पन्न



काठमाडौं । माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा आज अर्थात असोज १८ गते सम्पन्न भएको छ । सभा होटल पोखरा ग्राण्ड पार्दीमा सम्पन्न भएको हो ।

सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश पारित गरेको छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको हो । अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिनका लागि बुक क्लोज गरेको हुंदा असोज ७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्नेछन् । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८५ पैसा कायम गरेको थियो । हाल बंैकको चुक्ता पूँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित रहेको छ ।

उक्त साधारण सभामा बोल्दै बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले देशको आर्थिक स्थितीलाई मजबुत बनाउन बैंकको तर्फबाट यथासक्य योगदान पु¥याउने उद्धेश्यका साथ सन्तुलित रुपमा निक्षेप तथा कर्जा लगानीलाई वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै शेयरधनीहरुलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको जानकारी गराए ।

डा.महतोले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीति अनुरुप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको जानकारी गराउनु हुंदै बैंक सधै अर्थपुर्ण मर्जरका लागि सकारात्मक रही सोही बमोजिम छलफलहरु समेत गर्दै आइरहेको जानकारी गराए ।