सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौँ । सिटिजन्स बैंक ऋणपत्रमा आवेदन दिने आज अर्थात असोज २२ गते अन्तिम दिन रहेको छ । असोज २१ गते समय थप गरेको भने पनि सोही दिन मागभन्दा बढी आवेदन परेकाले आजदेखि बिक्री बन्द गर्न लागेको हो ।
कम्पनीले असोज १७ गतेदेखि ऋणपत्र निष्कासन गरेको हो । कम्पनीले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ निष्काशन गरेको हो ।
कम्पनीले १००० रुपैयाँ अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिन लागेको हो । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । बैंकको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस प्रदान गरेको छ।













