‘दशैं-तिहार’मा गाडी बेच्न कम्पनीहरुबीच ‘अफर’मा होडबाजी, कुन गाडी किन्दा कस्तो सुविधा ?
काठमाडौँ । व्यापार बढाउन विभिन्न गाडी विक्रेता कम्पनीहरूले चाडपर्व लक्षित अफर अघि सारेका छन् । विगत केही वर्षदेखि सुस्ताएको अटो बजार चलायमान बनाउन गाडी वितरक कम्पनीहरूले विभिन्न स्किम ल्याउने गरेका हुन्
यति बेला नेपाली हिन्दु धर्मावलम्बीहरूको महान् चाड दसैँ, तिहार तथा छठ पर्व नजिकिएको छ । सोही अवसर पारेर कम्पनीहरूले नगद छुट र विदेश भ्रमणसम्मका योजना अघि सारेका हुन् । दसैँ तिहारजस्ता ठुला चाडपर्व सवारीसाधन बिक्रेता र खरिदकर्ता दुवैका लागि फलदायी हुने समय हो । अफरले नयाँ गाडी खरिद गर्न चाहनेहरूलाई धेरै नै आकर्षित गर्ने गरेको पाइन्छ ।
गाडी कम्पनीहरूले चाडबाडको समयमा नगद छुट, बीमाको सुविधा, पार्ट पुर्जामा सुविधा, सवारी करमा छुट, सहज रूपमा सस्तो किस्ता बन्दी लगायतका योजना धमाधम ल्याइरहेका छन् । जसका कारण नयाँ सवारी खरिदको योजना बनाएका ग्राहकका लागि यस्ता अफर निकै लाभदायी बन्ने गरेको छ ।
ग्राहक तान्न कम्पनीहरूबिच अफरमा होडबाजी नै देखिएको छ । कम्पनीले आफ्नो व्यापार बढाउन यस वर्षको चाडबाड विशेष अफरमा १४ लाख रुपैयाँसम्मको छुट योजना अघि सारेका छन् । यस्तै, विश्वका विभिन्न मुलुकहरूमा भ्रमणसम्मको योजना ल्याएका हुन् ।
६ लाख कम मूल्यमा हुन्डाई गाडी किन्ने मौका, १ लाखसम्म जित्ने मौका
हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ६ लाख रुपैयाँसम्म नगद छुट र १ लाख रुपैयाँ जित्ने सकिने योजना अघि सारेको छ ।
कम्पनीले चाडपर्व लक्षित अफर ‘फेष्टिभ डिलाइट–२०८०’ योजना अन्तर्गत उक्त सुविधा दिएको हो । अफर योजनामा ग्राहकले ६ लाख रुपैयाँसम्म नगद छुट पाउने छन्। यसका साथै गाडी खरिद गर्नेमध्ये एक जना भाग्यमानीलाई हुन्डाईको एसयुभी एक्स्टर जित्ने मौका समेत छ ।
यस्तै, हुन्डाईका कुनै पनि गाडीको खरिदमा स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँसम्म ग्राहकले जित्न सक्ने छन्। यी लगायत एक वर्षको लागि नि:शुल्क सवारी बीमा र सडक कर ग्राहकले पाउने छन्।
निसान गाडी किन्दा झन्डै १४ को फाइदा उठाउन सकिने
चाडबाडको अफरमा निसान गाडी खरिदमा भने १४ लाख रुपैयाँसम्मको फाइदा उठाउन सकिने छ । निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले दसैँ अफरमा एउटै गाडी खरिद गर्दा १३ लाख ७५ हजार रुपैयाँसम्म फाइदा लिन सकिने योजना अघि सारेको हो ।
कम्पनीले निसान ‘फेष्टिभ ड्राइभ २०८०’ योजना अन्तर्गत उक्त अफर ल्याएको छ । कम्पनीले नगद छुट मात्र ८ लाखसम्म हुने जनाएको छ । यस्तै एक वर्षको बीमा र एक वर्षको सडक कर पनि नि:शुल्क सुविधा पाइने छ ।
टाटा गाडी किन्दा ७ लाख ३० हजारको फाइदा
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडीङले ‘बडा दसैँ बडा अफर’ योजना ल्याएको छ । कम्पनीले दसैँ, तिहार र छठ पर्वको अवसरमा उक्त अफर ल्याएको हो ।
अफर अन्तर्गत टाटा आइस रेन्जका गाडी किन्दा ७ लाख ३० हजार रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सकिने छ । यस योजनामा नगद छुट, वार्षिक सवारी करमा छुट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरू पाइने कम्पनीले जनाएको छ ।
साथै, टाटाका ईभी गाडीहरूमा पनि आकर्षक अफर छ । दसैँको अवसरमा ग्राहकले टाटा मोटर्सको शोरुमहरूमा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका एच फाईभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी लगायतका आइस र ईभी रेन्जका गाडीहरू अवलोकन र टेष्ट ड्राइभ गर्न सक्नेछन् ।
यस्तै, टाटाका टिपर र ट्रक गाडीको खरिदमा टिभी, फ्रिज, ल्यापटप, मोबाइल फोन, वासिङ मेसिन, नि:शुल्क किस्ता, वा नि:शुल्क सर्भिसिङको सुविधा पाइने छ । यसबाहेक युरोप वा दुबईको टुर र स्मार्ट घडी पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
पारामाउन्ट मोटर्सको ‘एमजी ड्राइभ्स फेष्टिभ भाइब्स’
मोरिस ग्यारेज (एमजी) ले एमजी ड्राइभ्स फेष्टिभ भाइब्स योजना ल्याएको छ । एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले उक्त योजना ल्याएको हो । उक्त अफरमा २ लाख रुपैयाँसम्मको फाइदा लिन सकिने छ ।
कम्पनीले चाडबाड लक्षित अफरको अवधिमा गाडी खरिद गर्दा स्पेयर टायर, ७ किलोवाट चार्जर र एक वर्षको बीमा नि:शुल्क प्रदान गर्ने जनाएको छ ।
एमडब्लूको थाइल्यान्ड र बाली भ्रमणको अफर
फोटोन कमर्सियलको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले भने थाइल्यान्ड र बाली घुम्ने अफर अघि सारेको छ ।
कम्पनीले आफ्ना सबै प्रकारका गाडी खरिद गर्ने ग्राहकलाई थाइल्यान्ड र बाली घुमाउने भएको ओ । फोटोनका हरेक गाडीको खरिदमा सबै ग्राहकलाई ‘स्योरसट उपहार’ उपलब्ध गराउने कम्पनीले जनाएको छ । जसमा एयरपड, स्मार्टवाच र स्पिकर समेत उपहार पाउने छन् ।
कम्पनीका अनुसार बम्पर उपहारमा लक्की ड्र मार्फत १ जनालाई थाइल्यान्ड ट्रिप, १ जनालाई बाली ट्रिप, १ जनालाई स्मार्ट टेलिभिजन, २ जनालाई रेफ्रिजरेटर, २ जनालाई वासिङ मेशिन र ३ जनाले मोवाइलफोन प्रदान गरिने छ ।
ग्रेट वाल मोटर्सको गाडी खरिदमा ७ लाखसम्म फाइदा
ग्रेट वाल मोटर्सको गाडी खरिदमा भने ७ लाख रुपैयाँसम्मको फाइदा उठाउन सकिने छ । ग्रेट वाल मोटर्सको गाडीको आधिकारिक बिक्रेता विशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्सले दसैँ अफर अन्तर्गत उक्त सुविधा दिएको हो ।
यस्तै, एक वर्षको बीमा, एक वर्षको सडक कर, फ्री एसेसरीज, फ्री सर्भिस, विशेष बोनसहरूको सुविधा प्राप्त गर्न सकिनेछ । यसका साथै विद्युतीय गाडी ओरा जेरो थ्रीको खरिद गर्दा पनि ७ किलोवाटको चार्जर पाउन सकिने कम्पनीले जनाएको छ ।
सिजी मोटर्सको १ लाख नगद छुट
सिजी मोटर्सले दसैँ स्किम ल्याएको छ । होजोन मोटर्सको आधिकारी बिक्रेता रहेको कम्पनीले नेटाभी खरिद गर्न चाहने ग्राहकहरूले नेटाको डिक्की फुल अफर ल्याएको हो ।
कम्पनीले बिक्री गर्ने इलेक्ट्रिक क्रस ओभर नेटाभीमा एक लाख नगद छुट पाउने छन् । कम्पनीका अनुसार ग्राहकले विभिन्न इलेक्ट्रिक सामानहरू गाडीको डिक्की भरेर पाउनेछन् ।
कम्पनीले प्रत्येक नेटाभी कारको खरिदमा ४३ इन्चको सिजी फोके स्मार्ट टिभी, कार भ्याक्युम क्लिनर, १४०० वाटको प्रेसर वासर, सिजीको भ्याक्युम कप र ५०० एमएल अट्ने सीजीको भ्याक्युम फ्लस्क बोतल उपहारमा राखेको छ । तर, यस्ता उपहार नलिएको खण्डमा १ लाख रुपैयाँ छुट पाइनेछ ।
यसका साथै रेगुलर ६.६ किलोवाटको एसी फास्ट चार्जर, फ्री स्मार्ट ब्यान्ड, एक वर्षको बीमा, एक्सचेन्ज सुविधा र एक वर्षको वार्षिक कर निःशुल्क पाइने छ ।
एडभान्स अटोमोबाइलबाट रेनोको गाडी किन्दा ७ लाखसम्मको फाइदा
दसैँ तिहारमा रेनोको गाडी किन्दा ७ लाख रुपैयाँसम्मको फाइदा लिन सकिने छ ।
रेनोको आधिकारिक बिक्रेता एडभान्स अटोमोबाइलले ‘चाडपर्वको शुभ सुरुवात, गरौँ रेनोको साथ’ नाराका साथ चाडपर्वलक्षित ‘रेनो शुभ कार–रम्भ’ अफर ल्याएको छ । अफरमा गाडी किन्ने ग्राहकले ७ लाखसम्मको फाइदा लिन सक्नेछन्।
यस्तै, एक वर्षको सडक कर र २ वर्षका लागि नि:शुल्क सर्भिसिङको सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसका साथै ग्राहकले एक्सचेन्ज बोनस, ब्रान्ड लोयल्टी बोनस, सजिलो फाइनान्स लगायत अन्य आकर्षक अफर पनि प्राप्त गर्न सकिने छ ।
सुजुकी गाडीमा १ लाख रुपैयाँ छुट, एक्सचेन्जमा पनि १ लाख बोनस
मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले पनि १ लाख रुपैयाँसम्मको छुट सुविधा ल्याएको छ । कम्पनीले दसैँ तिहार अफर अन्तर्गत ग्राहकले मारुती सुजुकीका गाडी तथा एसयूभी खरिद गर्दा १ लाख सम्मको नगद छुट र १ लाखसम्मकै एक्सचेन्ज बोनस पाउने योजना अघि सारेको हो । यसमा १ वर्षको नि:शुल्क बीमा सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।
चेरी ब्रान्डको गाडी किन्दा झन्डै ६ लाखको फाइदा
चेरीका गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले ‘चेरी चाडपर्व अफर’ योजना अघि सारेको छ । कम्पनीले चाडपर्व लक्षित ल्याएको उक्त योजना झन्डै ६ लाखसम्मको फाइदा प्राप्त गर्न सकिनेछ ।
कम्पनीका अनुसार चेरीका गाडी किन्ने ग्राहकले ५ लाख ८९ हजार रुपैयाँ छुट पाउन सक्नेछन् । यद्यपि, यो चेरीका सबै प्रो–सिरिज चेरी टिग्गो ४ प्रो, टिग्गो ७ प्रो र टिग्गो ८ प्रो को खरिदमा लागू हुने कम्पनीले जनाएको छ। यसका साथै एक वर्षको नि:शुल्क बीमा र सडक दस्तुर छुट, ३ वर्षको वारेन्टी र ३ वर्षको सर्भिसिङ सुविधा उपलब्ध गराउने जनाएको छ ।
फक्सवागन गाडी किन्दा २ लाख २५ हजार छुट र विदेश भ्रमण गर्न पाइने
पूजा इन्टरनेशनलले दसैँ तिहार लक्षित नगद छुटदेखि विदेश भ्रमणको योजना अघि सारेको छ । फक्सवागन गाडी आधिकारिक बिक्रेता रहेको यस कम्पनीले ‘फेबुलस फेस्ट अफर’ ल्याएको हो ।
अफर योजनाअन्तर्गत २ लाख २५ हजार रुपैयाँसम्मको नगद छुट, ४ वर्षसम्मको नि:शुल्क सर्भिस, एक वर्षको नि:शुल्क सडक कर र नि:शुल्क एसेसरिजको सुविधा प्राप्त गर्न सक्नेछन् ।
यसका साथै बम्पर उपहारमा ४ दिनको युरोपको बर्लिन भ्रमणको समेत मौका रहेको कम्पनीले जनाएको छ । अफरमा भाग्यशाली विजेताले एनआईयुको इलेक्ट्रिक स्कुटर र एउटा एप्पल म्याकबुक एयर उपहार पाउनेछन्।













