बीमा कम्पनीलाई नाफा वितरणमा प्राधिकरणको कडाइ, लाभांश घोषणा गर्न पनि सर्तैसर्त
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको नाफा वितरणमा कडाइ गरेको छ । प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०८० जारी गर्दै कम्पनीहरूको नाफा वितरणमा कडाइ गरेको हो ।
बीमा कम्पनीले सेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनी तीन वर्षसम्म धितो पत्र सम्बन्धी कानुन बमोजिम सूचीकृत नभएमा बीमा कम्पनीले वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यो व्यवस्था आर्थिक वर्ष २०७९/८० देखि नै लागू हुने छ ।
बीमा कम्पनीले सेयर वा म्युचुअल फन्डमा गरेको लगानी प्रचलित कानुन बमोजिम धितो पत्र बजारको सूचीबाट हटेमा वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने, निर्देशिका बमोजिम अन्य आयको विवरणमा समायोजन भई सिर्जना भएका कोषहरूको कुल योगफल ऋणात्मक भएमा बीमा कम्पनीको वितरणयोग्य मुनाफा गणना गर्दा सो बराबरको रकम घटाउनुपर्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको छ,–‘फेयर भ्यालु परिवर्तनमा खुद आय वा नोक्सानी’ र ‘सेयर अफ नेट प्रफिट अफ एसोसियट्स अकाउन्टेड युजिङ इक्विटी मेथड’ शीर्षक अन्तर्गत बीमा कम्पनीको नाफा–नोक्सानको विवरण मा समायोजन भई सञ्चित मुनाफा हिसाबमा जम्मा भएको धनात्मक ‘फेयर भ्यालु परिवर्तनहरूमा सञ्चित भएको आय’ र ‘सेयर अफ नेट प्रफिट अफ एसोसियट्स अकाउन्टेड युजिङ इक्विटी मेथड’ को कुल रकम बीमा कम्पनीको वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्नेछ ।’
कम्पनीहरूले प्रवाह गरेको कर्जामा समेत नोक्सान भएमा वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । यस्तै, बीमकले प्रवाह गरेको कुनै कर्जाको भाखा नाघेमा सो कर्जा रकम बराबरको रकम वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने, बीमा कम्पनीले वित्तीय विवरणमा कर्जाको इम्पेयरमेन्ट गरेको अवस्थामा इम्पेयरमेन्ट गरी खर्च लेखाङ्कन गरेको रकम भन्दा उपदफा (१) बमोजिम घटाउनुपर्ने रकम बढी भएमा सो बढी रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने निर्देशिका उल्लेख गरिएको छ ।
बीमा कम्पनीले वितरणयोग्य मुनाफा वितरणका लागि पुराना लिन बाँकी हिसाबसमेत घटाउनुपर्ने प्राधिकरणले जनाएको छ । बीमकले अन्य बीमक, पुनर्बीमक र ब्रोकरबाट लिन बाँकी देखिएको हिसाबको लागि गरेको इम्पेयरमेन्ट खर्च तोकिएको भाखा नाघेको कर्जा रकम बढी भएमा पनि उक्त रकमलाई वितरणयोग्य मुनाफामा गणना घटाउनुपर्ने भएको हो ।
निर्देशिका अनुसार चार वर्षभन्दा लामो समयदेखि भुक्तानी नपाएको रकमको शत प्रतिशत रकम वितरणयोग्य नाफाबाट घटाउनुपर्ने छ । यस्तै, तीनदेखि माथि र चार वर्षभन्दा कम अवधिको रकमबापत ७५ प्रतिशत, दुई भन्दा माथि र तीन वर्षभन्दा कम अवधिको रकमका लागी ५० प्रतिशत र एक वर्षभन्दा माथि दुई वर्षभन्दा कम अवधिको लिन बाँकी रकम बापत २५ प्रतिशत रकम वितरण योग्य मुनाफाबाट घटाउनुपर्नेछ ।
लाभांश घोषणामा पनि सर्तैसर्त
नयाँ निर्देशिका बमोजिम बीमा कम्पनीहरूको लाभांश घोषणामा पनि प्राधिकरणले सर्तैसर्त तोकेको छ । कम्पनीहरूले लाभांश घोषणा गर्नुअघि तोकिएको कागजात तथा विषय खुलाई स्वीकृतिका लागि प्राधिकरणमा पेस गर्नुपर्नेछ । बीमा कम्पनीले बीमा ऐन, २०७९ को दफा ४३ को अधीनमा रहेर वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा प्राधिकरण पेस गर्नुपर्ने भएको हो ।
निर्देशिकामा उल्लेख गरिएको छ,–‘बीमा ऐनको दफा १०१ बमोजिम बीमा कम्पनी समस्याग्रस्त घोषणा नभएको, ऐनको दफा ४३ को उपदफा (१) को अवस्था विद्यमान नरहेको, प्राधिकरणले बीमा कम्पनीको व्यवसाय आंशिक वा पूर्ण रूपमा रोक नलगाएको, ऐनको दफा ३६, ३८, ३९, ४०, ४१ र ४२ को व्यवस्था पूर्ण रूपमा पालना गरेको, व्यवस्थापनबाट प्रमाणित गरिएको वित्तीय विवरण, बाह्य लेखा परीक्षकको प्रारम्भिक प्रतिवेदन र सो सम्बन्धमा बीमा कम्पनीको सञ्चालक समितिले पेस गरेको जवाफ लगायतका कागजातहरू प्राधिकरणमा पेस गर्नुपर्नेछ ।’
यस्तै, बीमा कम्पनीले बुझाएको कागजात वा निवेदनको सम्बन्धमा छलफल गर्न आवश्यक परेमा बीमा प्राधिकरणले बीमा कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत(सिइओ), कर्मचारी, लेखा परीक्षक वा सम्बन्धित कुनै व्यक्तिलाई बोलाउन सक्नेछ र त्यसरी बोलाएको बखत प्राधिकरणमा उपस्थित हुनु पर्ने सर्त राखेको छ ।
त्यस्तै, बीमकले प्राधिकरणमा बुझाउने निवेदनका साथ पेस गरेका कागजात तथा विवरण जाँच गर्दा उपयुक्त देखिएमा र कागजात तथा विषयको जाँच गर्दा प्राधिकरणले लाभांश घोषणा नगर्न निर्देशन दिन वा सर्तसहित लाभांश घोषणा गर्न स्वीकृत दिन सक्नेछ ।













