लगानीको दायरा बढाउँदै बीमा कम्पनी: ६ खर्ब नाघ्यो कुल लगानी, मुद्दती निक्षेपमा धेरै, कुन क्षेत्रमा कति ?
काठमाडौँ । बीमा कम्पनीहरूले आफ्नो लगानी दोहोरो अङ्कमा बढाएका छन् । एक वर्षको अवधिमा कम्पनीहरूले १ अर्बले लगानी बढाएका हुन् ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०७९/८० मा ६ खर्ब २७ अर्ब रुपैयाँ लगानी गरेका हुन् । जुन, अघिल्लो आवको तुलनामा १८.९७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीहरूले ५ खर्ब २७ अर्ब रुपैयाँ लगानी गरेका थिए ।
बीमा कम्पनीहरूले मुद्दती निक्षेप, सूचीकृत कम्पनीको बण्ड तथा डिबेञ्चर, अग्राधिकार सेयर, बण्ड र डिबेञ्चर, सरकारी बचत पत्र र ऋणपत्र, म्युचुअल फन्ड र नागरिक लगानी कोष, अन्य संस्थापक सेयर, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, ऊर्जा र जलस्रोतका क्षेत्रहरूमा लगानी गरेका हुन् । यी क्षेत्रमा बीमा कम्पनीहरूले लगानीको दायरा बढाएका हुन् ।
नियामक निकाय बीमा प्राधिकरणले पनि कम्पनीहरूलाई लगानीको दायरा बढाउन जोड दिँदै आएको छ । प्राधिकरणका अनुसार कम्पनीहरूले पनि लगानी निर्देशिका अनुसार नै लगानी गरिरहेको जनाएको छ ।
जीवन बीमा कम्पनीको लगानी साढे ५ खर्ब माथि, मुद्दती निक्षेपमा सबैभन्दा धेरै
समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूको मात्रै ५ खर्ब ६८ अर्ब १४ करोड ५८ लाख रुपैयाँ लगानी छ । यो अघिल्लो आवको तुलनामा भने २० प्रतिशतले बढी हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरूले ४ खर्ब ७३ अर्ब रुपैयाँ लगानी गरेका थिए ।
कम्पनीहरूले लगानी हेर्दा बैङ्कहरूको मुद्दती निक्षेपमा बढी देखिएको छ । जीवन बीमा कम्पनीहरूले वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनी तथा पूर्वाधार बैङ्कको मुद्दती निक्षेपमा ४ खर्ब ३७ अर्ब रुपैयाँ बढी लगानी गरेका छन् । मुद्दती निक्षेपमा कुल लगानीको ७७ प्रतिशत हिस्सा रहेको छ । यस्तै, जीवन बीमा कम्पनीहरूले बैङ्क तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ७ प्रतिशत मात्रै लगानी गरेका छन् । यी क्षेत्रमा कम्पनीहरूले कुल ४१ अर्ब ३४ करोड रुपैयाँ लगानी गरेका छन् ।
अन्य लगानी ३४ अर्ब १ करोड, सूचीकृत पब्लिक कम्पनीको बण्ड र डिबेञ्चरमा २१ अर्ब ९१ करोड, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ११ अर्ब ४७ करोड रुपैयाँ देखिएको छ ।
प्राधिकरणका अनुसार अन्य संस्थापक सेयरमा ८ अर्ब ९१ करोड, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, ऊर्जा र जलस्रोत क्षेत्रहरूमा ६ अर्ब ५९ करोड, म्युचुअल फन्ड र नागरिक लगानी कोषमा १ अर्ब ६५ करोड रुपैयाँ लगानी रहेको देखिएको छ । जीवन बीमा कम्पनीहरूले इन्भेष्टमेन्ट कम्पनीको सेयरमा ३१ करोड र सूचीकृत नभएको अन्य पब्लिक लिमिटेड कम्पनीको सेयरमा २५ करोड रुपैयाँ लगानी गरेका छन् ।
निर्जीवन बीमा कम्पनीको लगानी पनि मुद्दती निक्षेपमै केन्द्रित, एक वर्षमा ५९ अर्ब लगानी
निर्जीवन बीमा कम्पनीहरूको लगानी पनि मुद्दती निक्षेपमै केन्द्रित देखिएको छ । कम्पनीहरूले गत वर्ष कुल ५८ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ लगानी गरेका छन् ।
एक वर्षको अवधिमा निर्जीवन बीमा कम्पनीहरूको लगानी भने एकल अङ्क अर्थात् ९ प्रतिशतले मात्रै वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीहरूले कुल ५३ अर्ब ९१ करोड रुपैयाँ लगानी गरेका थिए ।
लगानीको हिसाबमा ८० प्रतिशत रकम बैङ्कहरूको मुद्दती निक्षेपमा देखिएको छ । कम्पनीहरूले मुद्दती निक्षेपमा ४७ अर्ब ४४ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखेका हुन् ।
प्राधिकरणको तथ्याङ्क अनुसार कम्पनीहरूले सूचीकृत कम्पनीको साधारण सेयरमा झन्डै ५ प्रतिशत लगानी गरेका छन् । कम्पनीले सूचीकृत कम्पनीको साधारण सेयरमा कुल २ अर्ब ८७ करोड रुपैयाँ लगानी गरेका हुन् ।
यस्तै, अग्राधिकार सेयर, बण्ड र डिबेञ्चरमा २ अर्ब ६७ करोड, अन्य संस्थापक सेयरमा २ अर्ब २७ करोड, अन्य लगानी १ अर्ब २८ करोड, सूचीकृत पब्लिक कम्पनीको बण्ड, डिबेञ्चर र ऋणपत्रमा १ अर्ब ४ करोड, म्युचुअल फन्ड र नागरिक लगानी कोषमा ५६ करोड रुपैयाँ लगानी छ ।
यता, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, ऊर्जा र जलस्रोत क्षेत्रहरूमा ४१ करोड ४७ लाख, सरकारी बचत र ऋणपत्रमा २२ करोड र सूचीकृत नभएको अन्य पब्लिक लिमिटेड कम्पनीको सेयरमा ५ करोड रुपैयाँ लगानी रहेको प्राधिकरणले जनाएको छ ।













